बालबालिकामाथि हुने हिंसाबारे सातै प्रदेशका सरोकारवालाहरूसँग छलफल
ललितपुर - लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), भोइस अफ चिल्ड्रेन तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको संयुक्त आयोजनामा ‘बालबालिकामाथि हुने हिँसा न्यूनीकरणमा सरोकारवालाको भूमिका’ विषयक छलफल कार्यक्रम ललितपुरको चfकुपाटमा सम्पन्न भएको छ ।
शनिबार आयोजित कार्यक्रममा सातै प्रदेशका प्रतिनिधि तथा बाल अधिकार क्षेत्रमा क्रियाशील सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको हो ।
कार्यक्रममा सहभागीहरूले बालबालिकामाथि हुने शारीरिक, मानसिक, लैङ्गिक, अनलाइन तथा घरभित्रकै हिंसाका रूपहरूको पहिचान गर्दै ती कसरी, कहाँ र कसको तर्फबाट बढी हुने गर्दछ भन्ने विषयमा विस्तृत छलफल गरेका थिए ।
विशेष गरी विद्यालय, परिवार, अनलाइन प्लेटफर्म तथा समुदायमै हुने दुर्व्यवहार र त्यसले बालबालिकाको सुरक्षा र मनोवैज्ञानिक अवस्थामाथि पार्ने प्रभावबारे सहभागीहरूले आफ्ना अनुभव र तथ्यसहित प्रस्तुत गरेका थिए ।
छलफलमा बालबालिकामाथि हुने हिंसा रोकथामका लागि अभिभावकदेखि स्थानीय सरकार, विद्यालय, समुदाय, सञ्चार माध्यम र अधिकारकर्मी सबैको समन्वित भूमिकाको आवश्यकता रहेको जोड दिइएको थियो ।
सहभागीहरूले प्रभावकारी रोकथाम प्रणाली, सचेतना अभियान, अनुगमन संयन्त्र मजबुत पार्ने तथा बालमैत्री सहयोग सेवालाई सहज र सबैको पहुँचमा पुर्याउनुपर्ने सुझावसमेत दिएका थिए ।

