काठमाडौं - किरावा सिप्तुङ्खा वंश उत्थान समाजले शुक्रबार ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीमा माङखिम (पितृघर) निर्माण थालनी गरेको छ ।
यस संस्थाको यलेखोम (उपत्यका) कार्यसमितिका अध्यक्ष काजी सिप्तुङ्खा, सदस्य उत्तरकुमारी सिप्तुङ्खालगायतले माटो खनी पूजा गरेर भवन शिलान्यास गरेका हुन् । यो समाजले डेढ वर्षअघि करिब ८२ लाख रुपैयाँ संकलन गरी सात आना एक पैसा जग्गा खरिद गरेको थियो ।
अध्यक्ष काजीले भवन सुरु गरेपछि एक वर्षभित्र सम्पन्न गर्ने योजना रहेको बताए । लागत डेढ करोड रुपैयाँ अनुमान गरिएको उनको भनाइ छ । ‘जति–जति (रकम) आउँदै जान्छ बनाउँदै जाने हो । बिस्तारै–बिस्तारै थप्दै जाने हो’, उनले भने, ‘साढे एक तलाजस्तो चाहिँ छिट्टै गर्छौं कि भन्ने आशा गरेको छु ।’
संस्थाका उपत्यका सचिव बाबुराम सिप्तुङ्खाले संस्कार–संस्कृतिको संरक्षण, वंशहरूलाई जोड्ने र मानव सेवा गरी माङखिमको तीन प्रयोजन रहेको सुनाए । ‘डेढ–दुई वर्ष अघिदेखि यो अभियान सुरु गरेर हामी बीचको चरण शिलान्यासको चरणमा छौं’, उनले भने, ‘अझै निर्माणको काम बाँकी नै छ । अब निरन्तर गर्ने सोचमा छौं ।’
सल्लाहकार अग्नि सिप्तुङ्खाले संस्कार–संस्कृतिलाई निरन्तरता दिन काठमाडौंमा माङखिम आवश्यक परेको बताए । ‘माङखिम सिप्तुङ्खाहरूका लागि मात्र नभएर छोरीचेली, भानाभान्जा हरेक कुरा छुट्टिँदै गइरहेको छ, यो माङखिमले जोड्ने काम गर्दो रहेछ, ‘उनले भने, ‘माङखिम हाम्रो साझा घर हो । हाम्रो साझा संस्कार–संस्कृतिको धरोहर हो । त्यसैले यो माङखिम अपरिहार्य छ जस्तो लाग्छ ।’
सिप्तुङ्खा राई जातिभित्रको बान्तवाभाषी पाछा (वंश) हो ।

