रामेछाप - चितवनको रत्ननगर–६ सौराहास्थित होटल पार्क साइटको चौथो तलाबाट खस्दा सिन्धुलीको कमलामाई नगरपालिका–६ निवासी शिद्धबाबा स्कुलमा अध्ययनरत १८ वर्षीया छात्रा स्नेहा पाख्रिनको मंगलबार राति मृत्यु भएको छ ।
मंगलबार राति ११ बजे तिर होटलको चौथो तलाबाट खसेर गम्भीर घाइते भएकी पाख्रिनलाई तत्कालै उद्धार गरी बकुलहर अस्पताल टाँडी पुर्याइएको थियो । उपचारका क्रममा राति २३ः४५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । पाख्रिन शैक्षिक भ्रमणका लागि सौराहा पुगेकी थिइन् ।
घटना इलाका प्रहरी कार्यालय रत्ननगर–टाँडीको क्षेत्राधिकारभित्र पर्ने भएकाले प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक विवरण सङ्कलन गर्दै आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ । प्रहरीका अनुसार होटेलभित्रको अवस्थामा कायमै राखेर थप तथ्य सङ्कलन गरिँदैछ ।
शैक्षिक भ्रमणमा गएकी किशोरीको यस्तो दुःखद दुर्घटनाले विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायमा गहिरो पीडा छाएको छ । प्रहरीले घटनाको सबै पक्ष स्पष्ट हुने गरी अनुसन्धान जारी राखेको जनाएको छ ।

