तनहुँ- तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष दुई करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन् ।
सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ ।
बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष १६ लाख ५० हजारको सुन्तला बिक्री गरेको बताए । सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहेका उनले सुन्तला खेतीबाट मनग्य आम्दानी हुँदै आएको उल्लेख गरे । गाउँबाट यस वर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री भएको उनले बताए ।
यसैगरी अर्का किसान कालबहादुर रानाले आफूले चार लाखको सुन्तला बिक्री गरेको सुनाए । उत्पादन भएका सुन्तला बिक्रीका लागि कुनै समस्या नरहेको उनको भनाइ छ । उनले भने, 'ठेकेदार नै गाउँसम्म आउँछन्, सुन्तला बगानको मोलमोलाइ गरेपछि बोट किन्ने, टिप्ने, ढुवानी गर्ने सम्बन्धित ठेकदारले नै गर्छन् ।
' स्थानीय मनसिंह थापाले अन्य खेतीभन्दा सुन्तलाखेती गर्न सहज र मनग्य आम्दानी हुने गरेको बताए । उनले भने, 'प्रत्येक वर्ष मङ्सिर महिनाभर बेनीकोट गाउँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ हुन्छ ।' थापाले यस वर्ष दुई लाख १० हजारको सुन्तला बिक्री गरे ।
भिरालो सडक रहेको र सडकको स्तरोन्नति नहुँदा सदरमुकामबाट नजिकै भए पनि सुन्तला ढुवानीमा समस्या भोग्नुपरेको व्यवसायी लेखबहादुर थापाले बताए । उनले भने, 'अहिले दैनिक पाँच वटासम्म गाडीमा सुन्तला बजार पुर्याउने गरिएको छ । जोखिमपूर्ण बाटो भएकाले असहज भने छ ।'
बेनीकोटमा एउटा किसानले न्यूनतम २० देखि ८०० सम्म वटासम्म सुन्तलाका बोट लगाएका छन् । यहाँको सुन्तला काठमाडौँ, चितवन, पोखरासम्म पुग्ने गरेको छ । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका किसानको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले किसान यतिबेला सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन् ।

