Harsamaya
सरकारले भन्योः सबै दल दर्ता भए‚निर्वाचन हुने ढुक्क भयो 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेकपा एमालेले समेत निर्वाचन आयोगमा दल दर्ता गराएपछि चुनावप्रतिको आशंका हटेको दाबी गरेका छन् ।
चुनावको माहोल प्रगाढ बन्दै गएको उनको भनाइ छ । मन्त्रिपरिषदका निर्णय जानकारी गराउन मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता खरेलले चुनावमा भाग लिँदैन भनेको दलले दर्ता गराएपछि आशंका हटेको बताएका हुन् ।
‘निर्वाचन आयोगले आफ्नो काम धमाधम अगाडि बढाइरहेको छ । महत्त्वपूर्ण प्राय: सबै राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन्’, एक प्रश्नको जवाफमा मन्त्री खरेलले भने, ‘तपाईंले अघि कुरा उठाउनु भएको राजनीतिक दल (नेकपा एमाले)ले पनि आज दल दर्ता र नवीकरणको काम अगाडि बढाइसकेको छ । गाउँ, टोलदेखि जिल्ला हुँदै क्षेत्रसम्म निर्वाचन लक्षित विभिन्न कार्यक्रम गरिसकेका छन् भनेपछि अब के आशंका रहेन भने अब सबै राजनीतिक दल चुनावका लागि तयार भइसके ।’
मन्त्री खरेलले चुनावमा आउँदैन कि भनेर आशंका लागेको एमालेले नै दल दर्ता गराएपछि अब चुनावको लागि बाधक कोही नभएको दाबी पनि गरे । ‘जुन राजनीतिक दल चुनावमा आउँदैन कि भन्ने जस्तो आशंका हामीलाई लागेको थियो । त्यो पनि आजको दिनबाट उहाँहरूले निर्वाचन आयोगमा राजनीतिक दल दर्ता, नवीकरण गरिसक्नु भएपछि अब निर्वाचनको माहोल राजनीतिक दलको तर्फबाट बनिसक्यो’, मन्त्री खरेलले भने ।
८ लाख भन्दा बढी मतदाता नामावली दर्ता भइसकेको अवस्थामा नागरिक समेत निर्वाचनमा होमिएको उनको दाबी थियो । फागुन २१ गतेको चुनावका लागि सुरक्षा योजना तयार भइसकेको समेत मन्त्री खरेलले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update