काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले स्थानीय सरकारहरुलाई विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम तलब दिन आग्रह गरेका छन् ।
मंगलबार फेसबुकमा स्टेटस राख्दै उनले शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षक, विद्यालय सहयोगी र विद्यालय सहायक कर्मचारीको लागि तलब संघीय अनुदानबाट पठाईसकेको भन्दै बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक रकममा नघट्ने गरी स्थानीय सरकारले थप्नुपर्ने बताए ।
उनले लेखेका छन्, ‘शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकको लागि रु.१२०००, विद्यालय सहयोगीको लागि रु.१०,००० र विद्यालय सहायक कर्मचारीको लागि रू. १५००० तलब संघीय अनुदानबाट पठाईसकेको छ।बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक रकममा नघट्ने गरी स्थानीय सरकारले थप्नु पर्ने हो। अहिले सम्म झण्डै ७०० वटा स्थानीय सरकारले थपेर न्युनतम पारिश्रमिक अनुसार तलब ख्वाएको जानकारी मन्त्रालयलाई आएको छ। यो विषय न्यूनतम तलब नदिएका स्थानीय सरकारहरुको जिम्मेवारी भएको अवगत गराउँछु। बाल शिक्षकहरु र कर्मचारीहरुलाई अन्याय नगर्नु होला । यस विषयमा ट्रेड युनियनका नेताहरु खोई जागेको ?’
यस्तै, उनले अहिले सम्म झण्डै ७०० वटा स्थानीय सरकारले थपेर न्युनतम पारिश्रमिक अनुसार तलब दिएको जानकारी मन्त्रालयलाई आएको भन्दै न्युनतम तलब नदिएका स्थानीय सरकारहरुले पनि समयमा तलब दिनु पर्ने बताए ।

