Harsamaya

नेपालमा आइटी क्षेत्रको भविष्य राम्रो छ भनेर लामो समयदेखि बहस भइरहेको छ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा पनि सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता पनि दिने गरेको छ । नेताहरुले पनि आइटी क्षेत्रमै सक्रिय भएर महिनाको चार पाँच लाख रुपैंयाँ स्वदेशमै कमाउन सकिन्छ भनेर युवाहरुलाई प्रोत्साहन  दिइरहेका  छन् । यसै सिलसिलामा सूचना प्रविधि तथा साइबर सेक्युरिटी विज्ञ बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदातृ कम्पनी जेनेस सलुशनका प्रमुख प्रविधि अधिकृत (सीटीओ) तथा प्रमुख सूचना सुरक्षा अधिकृत (सीआइएसओ) निरन्जन कुँवरसँग पत्रकार युवराज गौतमले कुराकानी गरेका छन् । 

नेपालमा साइबर सुरक्षाको अवस्थालाई कसरी हेरिरहनुभएको छ ? नेपाल सरकारले बनाएको नीति कत्तिको सान्दर्भिक छ ?
विश्वका अन्य देशमा जस्तै नेपालमा पनि डिजिटल रुपान्तरण भइरहेको छ । पब्लिक र प्राइभेट सेक्टर, बैंकिङ, एजुकेशन, हस्पिटालिटी क्षेत्रमा डिजिटल ट्रान्फरमेशन तीव्र रुपमा भइरहेको छ । हरेक चिजहरु हामी अनलाइन माध्यमबाट गर्न सक्ने भएका छौं । तर साइबर सेक्युरिटीको मेच्युरिटी लेबलमा हामी अलिकति तल नै छौं । हुनत हामीले नीतिहरु त बनाइरहेका छौं तर ती पश्चिमा मुलुकहरुका नीतिहरुको तुलनामा कम नै छन्  । र,  भएका नीतिहरु पनि  कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

नीतिगत कमजोरीहरु केही देख्नुहुन्छ कि ?
यसमा एउटा कमजोरी भनेको नेपालमा डेडिकेटेट डेटा प्रोटेक्सन र प्राइभेसी पलिसी एवम कानुन चाहीं छैन् । यो एकदमै आवश्यक छ । यसले कुनैपनि नागरिकको व्यक्तिगत सूचना कसरी प्रोटेक्ट गर्ने, महत्वपूर्ण राष्ट्रिय पूर्वाधारदेखि क्रिटिकल डेटाहरु कसरी क्लासिफाइड गर्ने र कसरी सुरक्षित गर्ने भन्नेबारे नेपालमा कुनैपनि कानुन छैन र त्यो कानुन बनाउन जरुरी छ ।
त्यसका साथसाथै यदि कुनै किसिमले नागरिकको निजी सूचना वा कुनै कम्पनीले होल्ड गरेको डेटा ह्याक वा ब्रिच भयो भने अनिवार्य रुपमा कुनै नियमनकारी निकायलाई जानकारी गराउनुपर्ने हो त्यो निकाय नेपालमा छैन् । त्यससम्बन्धी  कानुन नै छैन् । जस्तो युरोपमा जिडीपिआर (जनरल डेटा प्रोटेक्शन रेगुलेशन  एक्ट) छ, त्यसले कसैले होल्ड गरेको डेटा ब्रिच भयो भने ७२ घन्टाभित्र नोटीफाइ गर्नुपर्ने हुन्छ । त्यो भएन भने सोही अनुसारको जरिवाना हुन्छ । त्यसले उत्तरदायी र जिम्मेवार बनाउँछ ।

नेपालमा साइबर सुरक्षाको समस्या चाहिं  कस्तो देख्नुहुन्छ ?
साइबर सुरक्षा भनेको ग्लोबल समस्या हो । यसले कुनैपनि बर्डर, सरकार,  संस्था वा व्यक्ति भन्दैन । त्यसकारण हामी सबै यसको जोखिममा  छौं । यसको समाधान लागि अन्तर्राष्ट्रिय स्तरमै सहकार्य  हुन जरुरी छ । सरकार–सरकार र विभिन्न राष्ट्रबिच सहकार्य  हुनुपर्छ । अनि अर्को अहिले हामी सबैले अधिकांश कामहरु डिजिटल रुपमा गर्ने हुनाले सचेतनाका साथ काम गर्न जरुरी छ । अनि मैले जहिले पनि साइबर सेक्युरिटीलाई प्रविधि मात्रै होइन, यसलाई पिपुल, प्रोसेस र टेक्नोलोजी तीनवटै तरिकाले सम्बोधन  गर्नुपर्छ भनिरहेको छु ।

सरकारी निकायहरूमा अनि हामीले  काम गरिराखेका अर्गनाइजेसनहरूमा पनि नेपालकै सन्दर्भमा, धेरैजसो कम्पनीहरू र हाम्रो सरकारी निकायहरूमा  पनि साइबर सेक्युरिटी टेक्नोलोजी प्रब्लम हो भन्ने बुझाइ छ । तर वास्तवमा  साइबर सेक्युरिटी आइटी वा टेक्नोलोजी प्रब्लम होइन । साइबर सेक्युरिटी भनेको  ‘अर्गनाइजेसन रिक्स’ हो । यसले  इज्जत  र आर्थिक रुपले  पनि हानी गर्ने एकदमै सम्भावना भएको हुनाले, यसले  बिजनेसको बटम लाइनमा हिट गर्छ । त्यही भएर यसलाई प्राविधिक समस्या हो या आईटीको समस्या हो भन्यो भने कहिले पनि समाधान गर्न सक्दैनौं ।

नेपालको सरकारी होस् वा निजी क्षेत्रका आइटी प्रणाली एकपछि अर्को गरेर ह्याक भइरहेका छन् । यस्तो किन भइरहेको छ ? साइबर सुरक्षा बलियो बनाउन के गर्नुपर्ला ?
ह्याकरहरू विभिन्न उद्देश्यका साथ साइबर आक्रमणमा संलग्न हुने गर्दछन् । तीमध्ये सबैभन्दा प्रमुख उद्देश्य आर्थिक लाभ हो । धेरैजसो ह्याकरहरूको मुख्य लक्ष्य नै पैसा आर्जन गर्नु हो । जसका लागि उनीहरू बैंक, वित्तीय संस्था तथा ठूला संस्थालाई टार्गेट गर्छन् । पछिल्ला वर्षहरूमा ‘रेन्समवेयर’ नामक मालवेयरमार्फत सिस्टम र डेटा लक गरी फिरौती माग्ने घटनामा वृद्धि भएको छ । भौतिक रुपमा व्यक्तिलाई बन्धक बनाएर पैसा मागेझैँ, डिजिटल दुनियामा डेटालाई बन्धक बनाएर अहिले ठूलो अपराधजाल बन्दै गइरहेको छ ।

आर्थिक उद्देश्य बाहेक अर्को महत्त्वपूर्ण पक्ष ‘नेसन–स्टेट’ गतिविधि हो । कुनै देशका ह्याकरहरूले अर्को देशका महत्वपूर्ण संरचना, संस्था वा डेटालाई टार्गेट गर्ने प्रवृत्ति बढ्दो छ । त्यस्तै, बौद्धिक सम्पत्ति (इन्टेलेक्चुअल प्रपर्टी) तथा निजी सूचनाको चोरी पनि ह्याकरहरूको ठूलो उद्देश्य बनेको छ । निजी सूचना वा गोप्य कागजात चोरी गरी डार्क वेबमा बिक्री गर्ने समूहहरू पनि  सक्रिय रहेको देखिन्छ ।

राजनीतिक उद्देश्यले प्रेरित ‘ह्याक्टिभिजम’ पनि पछिल्ला वर्षमा तीव्र भएको छ । भौतिक संसारमा हुने राजनीतिक प्रदर्शनजस्तै डिजिटल माध्यममा असन्तुष्टि प्रकट गर्ने यो प्रवृत्ति विश्वभर बढेको छ । नेपाल पनि यसबाट अछुतो छैन । नेपालमा बसेर विदेशी प्रणालीमा आक्रमण गर्ने तथा विदेशी ह्याकरहरूले नेपाली सरकारी प्रणालीलाई टार्गेट गर्ने घटना बारम्बार देखिन थालेका छन् ।

धेरैजसो आक्रमणका पछाडि आर्थिक उद्देश्य रहेपनि यस्ता घटनाले मुलुकको प्रतिष्ठामै असर पार्ने गर्दछन्  । राष्ट्रिय निकायका प्रणाली ह्याक हुने, संवेदनशील डेटा बाहिरिने तथा ह्याकरहरूले फिरौती माग्ने घटनाले नेपाललाई सुरक्षित डिजिटल राष्ट्रका रूपमा प्रस्तुत गर्न कठिन बनाइरहेको छ । केही महिनाअघि नेपाल प्रहरीले प्रयोग गर्ने प्रणाली ह्याक भएको चर्चा चलेको थियो । यसैगरी सरकारी वेबसाइटहरू ह्याक हुने, डेटा चुहिने तथा ह्याकरहरूले धम्कीपूर्ण माग राख्ने घटनाहरूले बाह्य लगानीकर्ताको विश्वासमा पनि नकारात्मक प्रभाव पारिरहेको छ ।

यदि साइबर सुरक्षालाई आवश्यक गम्भीरताका साथ नलिएमा, महत्वपूर्ण राष्ट्रिय डेटा बाहिरिनु, प्रणाली अवरुद्ध हुनु, राष्ट्रिय सुरक्षामा जोखिम पैदा हुनु तथा आर्थिक–प्रतिष्ठागत क्षति थपिनु स्वाभाविक छ । सुरक्षित डिजिटल पूर्वाधारमा आवश्यक लगानी तथा प्रभावकारी नीतिगत कदम नचलाइए नेपालको विकास प्रयासमै अवरोध पर्ने स्पष्ट संकेतहरू देखिइसकेका छन् । डिजिटल साक्षरता नै हाम्रो डिजिटल भविष्यको फाउन्डेसन हो । आजको युगमा यसलाई  डिजिटल साक्षरताको  रूपमा बुझ्नुपर्छ । मैले बुझे अनुसार, हामीले यसलाई सुनियोजित, संरचनागत र रणनीतिक तरिकाले अघि बढाउनु अत्यावश्यक छ । तर, दुर्भाग्यवश, यो क्षेत्रमा धेरै कमजोरी देखिन्छ ।

मलाई लाग्छ, केवल डिजिटल साक्षरता मात्रै पर्याप्त छैन; साइबर सेक्युरिटी सम्बन्धी सचेतना अहिले निकै महत्वपूर्ण भइसकेको छ । हामीले डिजिटलमा केही मात्र लगानी गरिरहेका छौं । तर हरेक क्षेत्रमा भइरहेको डिजिटल ट्रान्सफर्मेसनका साथै साइबर सुरक्षा चुनौतीहरू पनि बढिरहेका छन् । यही कारणले, साक्षरता र सचेतना अब अत्यावश्यक बनेको छ । मैंले पिपुल, प्रोसेस, टेक्नोलोजी—ती तीनवटा पिलरलाई हेर्छु भने, सबैभन्दा कमजोर पिलर ‘मानिस’ नै हो ।

मैले अनुभव गरेको कुरा यो हो कि प्रविधि जति सुरक्षित भए पनि यदि व्यक्ति  सचेत र साक्षर छैनन् भने, एउटै  इमेल वा फिसिङ लिंकले सबै प्रणालीलाई ब्रेक गर्न सक्छ । त्यसैले जनसाधारणलाई प्रशिक्षित र सचेत बनाउनु हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ । मैंले यो पनि देखेको छु कि डिजिटल साक्षरतामा लगानी, प्रशिक्षण र सचेतनालाई समग्र रणनीतिमा समेट्दा मात्रै सुरक्षित र विकासशील डिजिटल राष्ट्र निर्माण गर्न सक्नेछौं । त्यसैले म यो अभियानलाई सुनियोजित, दीर्घकालीन र प्रभावकारी बनाउन सधैं जोड दिन्छु ।

मानव समाजमा आएका विभिन्न टेक्नोलोजिकल र डिजिटल ‘रेभोलुसन’ हरू मध्ये अहिले भइरहेको एआई क्रान्तिको महत्व के हो ?
मैले बुझे अनुसार, मानव सभ्यतामा धेरै चरणका ‘रेभोलुसन’ आएका छन् । हामीले थाहा पाएको पहिलो ठूलो परिवर्तन इन्डस्ट्रियल रेभोलुसन हो । त्यसपछि टेक्नोलोजिकल र इन्फर्मेसन रेभोलुसन आयो । त्यसपछि  इन्टरनेट  अर्को महत्वपूर्ण रेभोलुसनको रूपमा आयो, जसले विश्वलाई जोड्ने तरिका नै परिवर्तन गर्यो । मैले पर्सनल कम्प्युटिङ र त्यसपछिका मोबाइल रेभोलुसनलाई पनि देखेको छु, जसले हाम्रो दैनिक जीवन, कामकाज र सञ्चार शैलीलाई पूर्णरूपले परिवर्तन गरिसकेको छ । अहिले, महसुस गरेको कुरा यो हो कि कृत्रिम बुद्धिमत्ता (एआई) को रेभोलुसन यस्तै अर्को ठूलो परिवर्तनको रूपमा अघि बढिरहेको छ ।

एआईले हामीलाई मात्र नभई संस्थाहरू, राष्ट्रहरू र सम्पूर्ण विश्व  सञ्चालन गर्ने तरिका नै कम्प्लिटली परिवर्तन गर्ने क्षमता राख्छ । त्यसैले अब हामी कसरी काम गर्छौं, कसरी निर्णय गर्छौं, र कसरी सञ्चार गर्छौ यी सबै चीजमा एआईले आधारभूत परिवर्तन ल्याउनेछ । मैले देखेको अनुसार, यो नयाँ युगले अवसरका साथसाथै चुनौती पनि ल्याउनेछ ।  तयार र सचेत नागरिक, स्मार्ट संस्था र रणनीतिक दृष्टि राख्ने राष्ट्र मात्र यस नयाँ डिजिटल युगबाट पूर्ण लाभ लिन सक्नेछन् ।

नेपालका लागि कृत्रिम बुद्धिमत्ता (एआई) ले उत्पन्न गरेका  अवसर र चुनौतीहरू के–के हुन्  ?
एआईले हामीलाई धेरै नयाँ अवसर प्रदान गरेको छ । हाम्रा सीमित स्रोत र संरचनालाई पार गर्दै छलाङ मार्ने अवसर दिन्छ । यो अवसर केवल सानो झ्याल मात्र हो, र त्यसलाई सही समयमा प्रयोग गर्न सके मात्र लाभ लिन सकिन्छ । नेपाल मात्र होइन, विश्वका विकसित राष्ट्रहरू पनि अहिले एआईका सम्भावनाहरू बुझ्न र प्रयोग गर्न खोजिरहेका छन् । तर हामीसँग नेपालमै आवश्यक ट्यालेन्ट र विशेषज्ञता आंशिक रूपमा उपलब्ध छन । हामी यसलाई मात्र प्रयोग गर्ने होइन, यसमा पायोनियर बन्न सक्ने स्थिति पनि राख्छौं । आज एआईसँग सम्बन्धित प्रविधिहरू युएस, सिलिकन भ्याली वा अन्य विकसित केन्द्रहरूमा उपलब्ध छन्  भने हामी काठमाडौं, पोखरा र अन्य शहरहरूबाट नै यसमा पहुँच राख्न सक्छौं ।

हामीलाई पायोनियर बन्न, प्रविधि उपयोग गर्न, यसबाट फाइदा लिन र विकासमा छलाङ मार्ने ठूलो अवसर प्रदान गरेको छ । यो अवसर शिक्षामा होस्, सरकारी क्षेत्र वा बैंकिङमा होस वा व्यक्तिगत उत्पादकत्वमा—हरेक क्षेत्रमा दक्षता, प्रभावकारिता र नवप्रवर्तन बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । विश्वास गर्छु, यदि हामीले यस अवसरलाई सही रणनीति र तयारीसहित उपयोग गर्न सक्यौं भने नेपाल डिजिटल युगमा तीव्र गतिमा अघि बढ्न सक्छ ।

नेपालको सूचना प्रविधि क्षेत्रमा तपाईंले देख्नु भएको सम्भावना र भविष्यबारे बताइदिनु होस् न । 
नेपालको सूचना प्रविधि क्षेत्रप्रति मेरो दृष्टिकोण अत्यन्तै सकारात्मक र आशापूर्ण छ । करिब २६ वर्षदेखि आइटी र साइबर सुरक्षामा काम गर्दै आएको व्यक्ति भएको नाताले यो क्षेत्रमा अपार सम्भावना देख्दै आएको छु । आफ्नो पेशागत यात्रामा मैले  हङकङ, यूकेका विभिन्न शहर र युएसका प्रतिष्ठित मल्टिन्यासनल कम्पनीहरूमा काम गर्ने अवसर पाएको थिएँ । तर आज म नेपालमै बसेर योगदान दिन चाहनुको प्रमुख कारण यही हो—हाम्रो देशमा क्षमता, मौका र भविष्य तीनओटै कुराहरु  छन् ।

नेपालका विश्वविद्यालयहरूले उत्पादन गरिरहेका आइटी जनशक्ति अहिले विश्वस्तरको प्रतिस्पर्धा गर्न सक्ने स्तरमा पुगेको नजिकबाट अनुभव गरेको छु । उदाहरणका लागि, अहिले म आबद्ध रहेको जेनेस सलुशनमा करिब १५०–२०० जनाको टोली छ, र तीमध्ये धेरैले युएस, यूके, अफ्रिका र युरोपका ग्राहकहरूलाई नेपालमै बसेर उच्च गुणस्तरका सेवा प्रदान गरिरहेका छन् । न्यूयोर्कस्थित एक ठूलो बैंकका महत्वपूर्ण प्रोजेक्टहरूक लागि  नै हाम्रो टोलीले काठमाडौं, पोखरा वा नेपालगन्जबाटै काम गर्छ । केवल युएस मात्र होइन, हामी यूके, अफ्रिका, र युरोपेली संघका ग्राहकहरूको काम पनि यहीँबाट सम्भाल्दै आएका छौँ । यसले सिद्ध गर्छ—नेपालका युवाहरूले विश्वस्तरको काम गर्न सक्छन्, बस वातावरण चाहिन्छ ।

छिमेकी भारतले १०–१५ वर्षअघि यसै किसिमका अवसरलाई सरकारी नीतिहरू, सहज प्रणाली र प्रवद्र्धनमार्फत संस्थागत गरेपछि आज विश्व आइटी उद्योगमा अग्रणी शक्ति बनेको छ । नेपाल केही वर्ष पछि परेकै हो, तर सही नीतिगत सुधार, लगानी मैत्री वातावरण र प्राविधिक क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाउन सके हामीले पनि ठूला फड्कोहरु  मार्न सक्छौँ । मलाई विश्वास छ—यदि सरकारको तर्फबाट आवश्यक सहयोग मिल्यो भने, हाम्रा युवाहरू विदेश जान बाध्य हुने अवस्था अन्त्य हुन सक्छ । उनीहरूले यहीँ बसेर अन्तर्राष्ट्रिय  स्तरको काम गर्न सक्छन, देशलाई योगदान दिन सक्छन् र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छन् ।

विश्व आज ‘ग्लोबल भिलेज’ भइसकेको छ । चाहनेहरू बाहिर जान सक्छन । तर अन्य युवा नेपालमै बसेर विश्वलाई नै सेवा दिन सक्ने वातावरण बनाउन सकिन्छ । नेपालका युवाहरूले टेक्नोलोजी, साइबर सुरक्षा, डेटा, एआई लगायतका क्षेत्रमा ग्लोबली इम्प्याक्टफुल र पायोनियरिङ काम गर्न सक्ने क्षमता राख्छन् । जेनेस  सलुशनले सुरू गरेको काम आज सानो स्केलमा देखिए पनि यसको प्रभाव ठूलो छ । नेपालमा यस्तै धेरै संस्थाहरू छन । जो सही नीतिगत आधार पाएपछि देशलाई नयाँ उचाइमा लैजान सक्षम छन् । चुनौतीहरू छन्, तर समाधान संभव छ र मैले नेपाल आईटीको भविष्य उज्यालो देखिरहेको छु ।

नेपालका विश्वविद्यालयहरूले दिने आइटी शिक्षा र त्यसको व्यावहारिक पक्षलाई कसरी हेर्नुहुन्छ ?
मैले बुझे अनुसार, नेपालको ब्याचलर स्तरको आइटी करिकुलम अन्तरराष्ट्रिय  स्तरको नै छ । खासमा फाउन्डेशनल ज्ञान विश्वविद्यालयहरूले दिन्छन्  र नेपालमा पनि दिइरहेका छन् । हामीले जेनेस  सलुशनमार्फत पुल्चोक इन्जिनियरिङ र अन्य विश्वविद्यालयहरूमा क्लाउड कम्प्युटिङ, डेटा, एआई र साइबर सेक्युरिटीका कोर्सहरू रिकमेंड  गरेका छौं  । तर चार–पाँच वर्ष युनिभर्सिटीमा पढेर बाहिर निस्किएपछि वास्तविक जीवनमा अभ्यास आवश्यक हुन्छ, किनभने टेक्नोलोजीको गति अत्यन्तै तीव्र छ र विश्वविद्यालयमा पढेको ज्ञान छिट्टै आउटडेटेड हुन्छ ।

यसमा नेपाल मात्र हैन, विश्वका विकसित राष्ट्रहरूमा पनि यही चुनौती छ । विद्यार्थीले कुन क्षेत्रमा स्पेशलाइज गर्न चाहन्छन, त्यो निर्णयपछि मात्रै वास्तविक अनुभव र लगातार सिकाइले तिनलाई सक्षम बनाउँछ । टेक्नोलोजी र आइटीमा पढाइ कहिले पनि समाप्त हुँदैन; नयाँ ज्ञान र अभ्यास अनवरत आउँछन् । यही कारणले मैले डिजिटल क्षेत्रमा निरन्तर सिकाइ र ह्यान्डस अन अनुभवलाई अत्यन्त जरुरी ठानेको छु ।

जेनेस  सलुशनले क्लाउड कम्प्युटिङलगायतका क्षेत्रमा गरिरहेको काम नेपालमा कति महत्वपूर्ण  छ ?
जेनेस  सलुशन एक भ्याल्यु आइटी र साइबर सेक्युरिटी कन्सल्टिङ फर्म हो, यसको हेडक्वार्टर यूकेमा छ र यूके बाहेक १० वटा देशमा उपस्थित छौँ । नेपाल हाम्रो मेन ब्याक अफिस हो, जहाँ करिब १५०–२०० जना कर्मचारीहरू सक्रिय छन् । हामी चार मुख्य भर्टिकलमा अपरेट गर्छौँ—पब्लिक क्लाउड, साइबर सेक्युरिटी, डेटा र एआई । साइबर सेक्युरिटीमा हामी इन्ड–टु–इन्ड दृष्टिकोण अपनाउँछौँ, जसमा केवल टेक्निकल टुल्स नभई पिपुल, प्रोसेस र टेक्नोलोजीको होलिस्टिक ट्रान्सफर्मेसन समावेश छ । यसले साइबर सेक्युरिटीको म्याच्युरिटी बढाउन र रिस्क घटाउन सहयोग पुर्याउँछ । पब्लिक क्लाउडमा हामी अमेजन एडब्लुएसको नेपालका लागि एकमात्र  प्रिमियर पार्टनर हौँ । क्लाउड कम्प्युटिङले नेपालको इनभेसन र डिजिटल परिवर्तनलाई नयाँ स्तरमा पुर्याउँछ ।

डेटा अहिले ‘न्यू ओयल’ बनेको छ र हामी यसलाई प्रभावकारी रूपमा प्रयोग गरेर सेवा र समाधानहरू प्रदान गर्छौँ । एआईमा बाहिरी ग्राहकहरू, विशेषगरी यूके, युएस र अफ्रिकाका कस्टमरहरूसँग काम गर्दैछौँ र एआई–आधारित भविष्यका प्रोडक्टहरू विकास गरिरहेका छौँ । डेटा, क्लाउड र एआईमा निरन्तर नवप्रवर्तनले नेपाललाई ग्लोबल डिजिटल परिदृश्यमा प्रतिस्पर्धी बनाउने ठूलो क्षमता राख्छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update