Harsamaya

काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ पुस्तालाई वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रूपमा तयार पार्ने जिम्मेवारी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘जेनजीसँग नेपाली कम्युनिष्ट पार्टी’ विषयक कार्यक्रममा उनले आउने चुनावमा धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीहरूमा धेरैभन्दा धेरै युवाहरूलाई ल्याउने सङ्कल्प गर्ने अवस्था आएको भन्दै नयाँ पुस्तालाई बढिभन्दा बढी जिम्मेवारी दिने र त्यसमा पुराना पुस्ताका क्रान्तिकारीहरूको जिम्मेवारी रहेको बताए ।

उनले भने, ‘अब हाम्रो सपना वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रूपमा तयार पार्ने र आउने चुनावमा धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीहरूमा धेरैभन्दा धेरै युवाहरूलाई ल्याउने सङ्कल्प गर्ने अवस्था आएको छ । यसबारे हामीले छलफल गरेका छौ । छिटै त्यो निर्णय पनि गर्ने छौ । नयाँ पुस्तालाई बढिभन्दा बढी जिम्मेवारी दिने पुराना पुस्ताका क्रान्तिकारीहरूको जिम्मेवारी हो ।’

यस्तै, उनले युवाहरूलाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी दिने सङ्कल्प र सपना देख्नुपर्ने भन्दै अब युवाहरूलाई नयाँ नेपालको नयाँ नेताको रूपमा तयार पार्ने बताए ।

उनले भने, ‘एक हजार जेनजी युवाहरूलाई पार्टीमा स्वागत गर्दै गर्दा हामीले देखेको सपना नेपालबाट सामन्ति उत्पीडनको अन्त्य गर्ने, वैदेशिक हस्तक्षेपको अन्त्य गर्ने र जनताको नेपाल बनाउने सपना बोकेर गरेका कामहरू स्मरण भएको छ । नयाँ पुस्तालाई देख्दा अब हामीले नयाँ सपना देख्नु पर्छ भन्ने महसुस गरेको छु । अब युवाहरूलाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी दिने सङ्कल्प र सपना हामीले देख्नुपर्छ । युवाहरूलाई नयाँ नेपालको नयाँ नेतृत्वका रूपमा तयार पार्नुपर्छ भन्ने सपना हामीले देख्नुपर्छ ।’

जेनजी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते जस्तो नेतृत्व लिएको थियो त्यसले देश र संसारभर रहेका नेपालीहरूलाई झकझकाउने र एउटा नयाँ चेतना तिर अगाडि बढ्न बाध्य बनाउने काम गरेको पनि उनको भनाई छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update