काठमाडौं - महानगरपालिकामा बसोबास गर्ने हातमा केही न केही सिप भएका महिलाहरुले अब खाली बस्नु नपर्ने बताउँदै काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, महिला उद्यमशीलता सम्बन्धी नीतिगत प्रबन्ध गरिने बताएकी छिन् ।
बिहीबार महानगरपालिकाको सभा कक्षमा सामाजिक विकास विभागले आयोजना गरेको महिला समूह, समित र सशक्तिकरण विषयक अन्तरक्रियामा उनले यस्तो बताएकी हुन्।
उद्यमशीलतासँग सम्बन्धित एक वडा एक नमूना कार्यक्रमले नतिजा प्रदान गर्न थालेको बताउँदै उनले महिला समूहहरुलाई पनि उद्यमी बनाउने आफ्नो लक्ष्य रहेको बताइन् ।
‘घरमै बसे पनि हातमा केही न केही सिप हुन सक्छ । कसैलाई मिठो खाना बनाउन आउँछ । कसैलाई कपडा सिलाउन आउँछ । कसैलाई सजावटका सामान बनाउन आउँछ । यो भनेको आय प्रदान गर्ने सिप हो । मैले के जानेको छु र भनेर नबस्नु ।’ उनले महिलाहरुलाई प्रोत्साहित गरिन् ।
महिला समितिबाट महिलाहरुको अवस्था (सुविधा, स्तर, पहुँच, समय बचत), अवस्थिति (स्वाभिमान, मर्यादा, आवाज र प्रभाव) र अभिकार्य (अग्रता, समर्पण र समाधान)मा सकारात्मक परिवर्तन आएको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाको भनाइ छ ।
महानगरपालिकामा सामाजिक विकास विभागले २०७५ सालदेखि महिला विकास समूह र समितिको गठन थालेको हो । २०७८ सालमा सबै वडामा समूह गठन भइसकेका छन् । अहिले महानगरपालिकाभित्र ३५ वटा महिला विकास समिति छन् ।
यी समिति अन्तर्गत ५/५ जना रहेका अरु ६ सय वटा समूह छन् । समूहका सदस्यहरुले आपसी सल्लाह गरेर महिनाको निश्चित पैसा जम्मा गर्ने गरेका छन् । यसरी जम्मा गर्नेको रकम हेर्दा थोरैमा १ सय रुपियाँदेखि ५ सय रुपियाँसम्म जम्मा भएको देखिन्छ । यसरी जम्मा भएको पैसा हरेक २ वर्षमा व्याज सहित फिर्ता हुन्छ ।
महानगरभित्रका समूहमा अहिले ३ हजार १ जना सदस्य छन् ।

