काठमाडौं - प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा २२ करोड ७५ लाख ३८ हजार ३३१ रुपैयाँ थपिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार साँझसम्म विभिन्न नौ बैंकमा रहेको कोषको मौज्दात १० अर्ब ८९ करोड ६६ लाख ६२ हजार २७७ रुपैयाँ पुगेको छ। डलर खातामा २ करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर रहेको छ।
सबै खातामा गरी कोषमा १४ अर्ब ५६ करोड ३८ लाख ७ हजार ५५६ रुपैयाँ बराबरको मौज्दात रहेको कार्यालयले जनाएको छ।
रसुवाको भोटेकोशी बाढीपीडितका लागि कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा भइसकेको छ।
सरकारले बाढी प्रभावित परिवारलाई आवास भाडा तथा अन्य खर्चका लागि चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार र थप प्रत्येक सदस्यका लागि दुई हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

