Harsamaya
तारकेश्वर नगरपालिकाले मुटुरोगीलाई ५० हजारसम्मको औषधी उपचार खर्च दिने
नगर प्रमुख कृष्ण हरि महर्जन र शहिद गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.रवि मल्ल ।

काठमाडौं - तारकेश्वर नगरपालिका र शहिद गंगालाल हृदय केन्द्रबीच मुटुरोगको उपचारका विषयमा सम्झौता भएको छ । 

बिहीबार नगरपालिका र गंगालालबीच नगरपालिकामा स्थायी बसोबास गर्ने मुटुरोग सम्बन्धी बिरामीहरुका लागि तारकेश्वर नगरपालिकाले ५० हजारसम्मको आवश्यक औषधी उपचार खर्च दिने व्यवस्था गरी सम्झौता गरेको हो । 

तारकेश्वर नगरपालिका, स्वास्थ्य शाखाको समन्वयमा नगर प्रमुख कृष्ण हरि महर्जन र शहिद गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.रवि मल्लले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उपचार खर्च पाउन बिरामीलाई नगरपालिकाबाट आवश्यक कागजात उपलब्ध गराएपछि गंगालालमा उपचाराधीन बिरामीहरूले चिकित्सा खर्चमा यो सुविधा पाउनेछन् । 

नेपाल सरकारद्वारा उपलब्ध गराइने एक लाख र प्रदेश सरकारद्वारा दिइने पचास हजारको सिफारिससँगै यो रकम  प्रदान गरिनेछ । यस प्रकार बिरामीहरूले कुल दुई लाखसम्मको आर्थिक सहयोग प्राप्त हुनेछ।


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update