काठमाडौं - नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा बिहीबार बिहानै काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो । यसअघि नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो ।
नेपाल स्काउटले खड्काको कम्पनीले भाडामा लिएको उक्त जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि स्काउटले सात दिनभित्र बक्यौता बुझाउन अन्तिम ताकेता गरेको थियो ।
उक्त समयसिमा भित्र पनि खड्काको कम्पनीले भाडा नबुझाएपछि आज महानगरले स्काउटको जग्गामा बनेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा डोजर चलाएको हो ।
उक्त जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा १० वर्षे करार सम्झौता भएको थियो । सम्झौता गरेको समय अवधि सकिएपनि कम्पनीले स्काउटको स्वामित्वमा रहेको जग्गा खाली गरेको थिएन ।

