Harsamaya
मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै गौरमा प्रदर्शन
मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया विरुद्ध सात दलले रौतहटको गौरमा विरोध प्रदर्शन ।

रौतहट - मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया विरुद्ध सात दलले रौतहटको गौरमा विरोध प्रदर्शन गरेका छन् । 

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी ) र नागरिक उन्मुक्ति पार्टीले बुधबार दिउँसो गौरमा विरोध प्रदर्शन गरेका हुन् । 

सात दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले नाराबाजी गर्दै  मुख्यमन्त्री नियुक्ति खारेजीको माग गरेको हो । लोसपाका नेता अनिल सिंहले  संविधान, संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आन्दोलन गरिएको बताए । 

मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक भएको टिप्पणी गर्दै उनले नियुक्ति खारेजी हुनुपर्ने माग दोहो¥याए । उनले सभामुख रामचन्द्र मण्डलको पानि राजीनामा माग गरेका हुन् । 

उनीहरुले सात दलिय आन्दोलन क्रममा भएको दमनको  भर्त्सना गर्दै घटनामा संलग्नलाई कारबाही माग समेत गरेका छन् । नेकपा (एमाले) बाहेकका सात दलका ७४ जना प्रदेश सांसदको हस्ताक्षर सहित मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।  

सात दलहरूले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) को दुरुपयोग गर्दै असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका छन् ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update