जनकपुर - जनकपुरधाममा सात राजनीतिक दलको विरोध प्रदर्शन सुरु भएको छ । मधेश भवन अगाडि सडक अवरुद्ध गर्दै सात दलीय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै खारेज गर्नुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन् ।उनीहरूले असंवैधानिक मुख्यमन्त्री चाहिँदैन, एमालेको झोले सभामुख चाहिँदैन, जङ्गली मुख्यमन्त्री राजीनामा दे लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् ।
हिजो बेलुका मुख्यमन्त्री सरोज कुमार यादवले पदभार ग्रहण गरिरहेको बेला मधेस भवन अगाडि ७ दलीय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरूले विरोध गरिरहेका थिए । सोही समयमा सुरक्षाकर्मीहरूले लाठी चार्ज गर्दा दर्जन बढी घाइते भएका थिए ।
सो घटना पश्चात् ७ दलीय गठबन्धनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आज बिहान ८ः३० बजेदेखि विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएका थिए ।
७ दलीय गठबन्धनमा नेपाली काँग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल, नेकपा एस र नागरिक उन्मुक्ति पार्ट रहेको छ ।

