Harsamaya
नेपालमा नेता ‘मालिक’ र कार्यकर्ता ‘नोकर’ जस्तै भए : सीके लाल
राजनीतिक विश्लेषक सीके लाल ।

काठमाडौं - राजनीतिक विश्लेषक सीके लालले नेपाली समाजमा नागरिक चेतना अभाव र नेताप्रतिको अन्ध अनुगमनले लोकतन्त्र कमजोर बन्दै गएको बताएका छन् ।

‘देश, मधेश र युवाको अवस्था’ विषयक विचार–विमर्श कार्यक्रममा बोल्दै उनले हरेक राजनीतिक दलमा ‘मालिक–नोकर’ प्रवृत्ति हाबी भएको टिप्पणी गरे । उनले नेपालमा नेता ‘मालिक’ र कार्यकर्ता ‘नोकर’ जस्तै व्यवहारमा सीमित भइरहेको बताए ।

लालले भने, ‘हामीले सबैभन्दा पहिले नेताहरूसँग लड्न सिक्नुपर्छ । सत्ताले जहाँ भए पनि चाहे अमेरिकाको ट्रम्प होस् वा नेपालका शासक प्रजा खोज्छ, नागरिक होइन । नागरिक बन्न त प्रश्न गर्न सक्नुपर्छ ।’

उनले नेपालमा नागरिक बन्ने अवधारणा नै नयाँ भएकाले धेरै मानिसले यसको अर्थ बुझ्न नसकेको बताए । उनले युवाहरूमाझ प्रश्न गर्ने संस्कार हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

‘बच्चामा ‘यो किन ?’ भन्ने बानी हुन्छ, तर उमेरसँगै त्यो हराउँछ । नागरिक बन्नको लागि त्यही प्रश्न गर्ने बानी फर्काउनुपर्छ,’ उनले भने ।

उनले नागरिक समाज बलियो बनाउन युवाले सत्ताप्रति निर्भीक भएर प्रश्न गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update