काठमाडौं - नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिवेशनका लागि दुई वटा प्रस्ताव आएको नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले जानकारी दिएका छन् ।
मंगलबार नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महामन्त्री गगन थापाले र सहमहामन्त्री महेन्द्र यादवले आफ्नो व्यक्तिगत तर्फबाट अधिवेशनका लागि प्रस्तावहरू आएको बताएका हुन् ।
उनले भने, ‘आज केन्द्रीय समितिको बैठकमा व्यक्तिगत रूपमा दुई वटा प्रस्ताव अगाडि आए तपाईंहरुलाई थाहा छ । महामन्त्री गगन थापाले निर्वाचन अगाडि अधिवेशन गर्न सकिने प्रस्ताव उहाँले ल्याउनु भएको छ भने सहमहामन्त्री महेन्द्र यादवले पनि यो निर्वाचन र अधिवेशन सँग–सँगै लादा अप्ठ्यारो पर्छ समय पनि हामीलाई पुग्दैन । क्रियाशील सदस्य अगाडि पुग्यौँ र वडादेखिको अधिवेशन चाहिँ चैतबाट सुरु गरेर वैशाख भित्रै सकौँ भन्ने उहाँहरूको प्रस्ताव थियो।’
नेता महतले चासो र चिन्ताका विषय, राष्ट्रिय मुद्दा धेरै भए पनि बैठकमा अधिवेशनका कुराले ज्यादा प्राथमिकता पाइरहेको बताए ।उनले बैठकमा अझै फरक किसिमको प्रस्ताव आउन सक्ने भन्दै छलफलबाट साझा निष्कर्ष निकाल्न सक्ने बताए ।
‘हामी साझा निष्कर्षमा अझै पनि निचोड निकाल्न सक्छौँ, सर्वसहमतीका साथ निकाल्न सक्छौँ भन्ने लागेको छ । अब छलफल जारी छ अहिले यसै भन्न सकिन्छ तर हाम्रो कोसिस त्यही हुन्छ,’ उनले भने ।
आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आ–आफ्नो धारणा राखेका थिए ।

