काठमाडौं - नेपाली कांग्रेसको महाधिवेशनका लागि मेरूदण्डको रूपमा रहेको क्रियाशील सदस्यता १९ जिल्लाबाट मात्र नवीकरण सम्पन्न भएको छ ।
महामन्त्री गगनकुमार थापाले मंगलबार केन्द्रीय कार्यसमितिमा पेश गरेको विवरण अनुसार १९ जिल्लामा १६३८०८ क्रियाशील सदस्य मध्ये ११८७९४ सदस्यता नवीकरण भई केन्द्रीय कार्यालयमा इमेलमार्फत विवरण प्राप्त भएको हो ।
महामन्त्री थापाले हालसम्म ६२ जिल्लामा वडा तहबाट नवीकरण सिफारिस भइ तहगत प्रक्रिया पुरा गरी विवरण पठाउने क्रममा रहेको पनि जानकारी दिए । महामन्त्री थापाले २७ जिल्लाका केही वडाहरू बाहेक तहगत नवीकरण भइ १९०४६० सदस्यता केन्द्रमा बुझाउने क्रममा रहेको पनि बताए ।
‘अर्थात ४६ जिल्लाबाट ३ लाख ९ हजार २ सय ५४ सदस्यता नवीकरणको विवरण प्राप्त भएको छ र सिष्टममा इन्ट्री गर्न बाँकी छ। १६ वटा जिल्लामा (केही वडा बाहेक) वडामा नवीकरण भइ तहगत प्रक्रियामार्फत जिल्लामा संकलन हुने क्रममा छ‚’ महामन्त्री थापाले विवरण पेश गर्दै भने ।
केन्द्रीय समितिमा पेश गरिएको विवरण अनुसार पर्सा, काभ्रे, मकवानपुर, कास्की, बांके, बर्दीय र कञ्चनपुर गरी ६ वटा जिल्लामा आन्दोलन र आगजनीका कारण क्रियाशील सदस्यता नवीकरणमा ढिलाई भएको छ ।
‘कैलाली (क्षेत्र नं. १,२ र ४), रुपन्देही (क्षेत्र न. ४) मुस्ताङ, बारा (१ र २), सिरहा (क्षेत्र नं.३), सप्तरी, धनुषा (क्षेत्र नं. ३ र ४), कञ्चनपुर (क्षेत्र नं. ३), सिन्धुपाल्चोक, नुवाकोट, बांके (क्षेत्र नं. ३), सुर्खेत (क्षेत्र नं. २), डडेल्धुरा, खोटाङ (सभापति रिक्त भएको कारण) सर्लाही (सभापति रिक्त भएको कारण) लगायतका केही जिल्लामा विभिन्न कारणले नवीकरणमा समस्या उत्पन्न भएको छ‚’ उनले भने‚ ‘६७४३ वडामध्ये विभिन्न कारणले नवीकरण बांकी रहेका मात्र २६८ वडामध्ये हाल २२७ वटा वडामा नवीकरणको प्रक्रियामा रहेको छ। ३ वटा निर्वाचन क्षेत्र (वारा १ र २, रुपन्देही ४ मर्चवारी गापा वडा नं. ४ सहित) लगायत ४१ वटा वडामा नवीकरण शुरु हुन सकेको छैन।’

