Harsamaya
मतदाता नामावली दर्ता गराउन  युवा उत्साहित
फाइल तस्वीरः हर समय/harsamaya

चितवन - २३ र २४ भदौ गते भएको युवाहरुको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ । यसमध्ये ९० प्रतिशत युवाहरु रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय भरतपुरमा मतदाता नामावली दर्ता गर्न आउने युवामा आशा पलाएको पाइएको छ । भरतपुर महानगरपालिका–५ का समिर शर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान गर्नका लागि नामावली दर्ता गराउन आएका हुन् ।

युवा पुस्ताको आन्दोलनपछि उनमा केही आशा पलाएर मतदाता नामावलीमा नाम दर्ता गराउन आएको बताए । “युवाहरु भएपछि केही गरौ, कोही राम्रो मान्छे उम्मेदवार भएमा मतदान गरेर विजयी गराउन मतदाता नामावलीमा नाम गर्दा गरएको हुँ‚” उनले भने ।

युवाको विषयमा सोच्ने नेतृत्व चयनका लागि मतदान गर्ने उनले बताए । सञ्चुकुमारी तामाङ पहिलो पटक मतदान गर्ने योजनाका साथ मतदाता नामावलीमा नाम दर्ता गराउनु आएकी हुन् । युवा पुस्ताका लागि केही सोच्ने नेतृत्वका लागि मतदान गर्ने योजनासहित मतदाता नामावलीमा नाम दर्ता गराएको उनले बताइन् । अहिलेसम्म युवाको बिषयमा सोच्ने नेतृत्व नहुँदा मतदाता नामावलीमासमेत नाम दर्ता नगराएको उनको भनाई छ ।

लामो समय विदेशमा बसेर स्वदेश फर्कनु भएका दीपक पन्त आफ्नो श्रीमतीसहित मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । अब देशमा केही हुन्छ की भन्ने आशाका साथ मतदाता नामावलीमा नाम दर्ता गर्न आएको उनले बताए । पटक–पटक बिदामा स्वदेश आउँदासमेत नामावली दर्ता गर्ने चाहना नभए पनि अहिले ऊर्जा बढेको उनको भनाई छ । 

जिल्ला निर्वाचन कार्यालय भरतपुरमा ३ हजार ५२९ जना नयाँ मतदाता थपिएका छन् । कायालयले असोज ९ गतेदेखि नयाँ मतदाता नामावली सङ्कलनको काम सुरु गरेको हो ।  कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार तीन हजार ५२९ जनाले नामावली दर्ता गराएका छन् । जसमध्ये  ५२९ जना जिल्ला बाहिरका रहेका छन् । नामावली दर्ता गर्नेमा ९० प्रतिशत २५ वर्ष मुनिका रहेका छन्,भने १० प्रतिशत २५ वर्ष माथिका रहेका छन् । 

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली सङ्कलनको काम भइरहेको हो । नामावली सङ्कलनको काम कात्तिक महिनाभर मात्रै हुने छ । यसरी नामावली दर्ता गर्न आउनेमा स्वतः स्फूर्त आएको पाइएको उनले बताए । 

उनका अनुसार अहिलेसम्म राजनीतिक दलहरुले कार्यकर्तालाई ल्याएका छैनन् । “दलहरुले गाडीमा ल्याउने गरेका थिए । तर अहिले त्यस्तो छैन । आएका मतदाता स्वतस्फूर्त आएका हुन‚” उनले भने । विसं २०७९ को निर्वाचनमा चितवनमा चार लाख २१ हजार ३९२ मतदाता थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update