रामेछाप - वर्षाका कारण आएको पहिरो र लेदोले अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ ।
आइतबार बिहान ११:३० बाट सडक सञ्चालनमा आएको काभ्रेको मंगलटार प्रहरीका असई पुष्कर श्रेष्ठले जानकारी दिए । लगातारको वर्षाको कारण तीनदिनदेखि अवरुद्ध सडक हिजो साँझदेखि सफा गर्न सुरु गरिएको थियो ।
वर्षाले बिगारेको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड सफा गर्ने काम सम्पन्न भएपछि यातायात सञ्चालनमा आएका श्रेष्ठले बताए ।
बिपी राजमार्ग माथि काभ्रेको रोशी गाउँपालिकास्थित चारसय बेँसीको नाङ्गशाल रोडा ढुङ्गा उद्योगको खानी क्षेत्रबाट झरेको सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएको थियो। यसका साथै अन्य विभिन्न ठाउँमा पनि पहिरो र लेदोले सडक अवरुद्ध पारेको थियो ।
सडक अवरुद्ध हुँदा केही सवारीसाधन नेपालथोकमा रोकिएका थिए भने केही सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौंतर्फ गएका थिए । सडक छेउमा सञ्चालन भएका ढुङ्गा र क्रसर उद्योगहरूले सो राजमार्गमा क्षति पुर्याउँदै आएको छ ।
गत असोज १८ र १९ गते को वर्षाको कारण रोशी खोलामा आएको बाढीले राजमार्गको अस्थायी डाइभर्सन बगाएको थियो । जसको कारण एक हप्तासम्म सडक अवरुद्ध भएको थियो । गत सालको असोज महिनामा आएको बाढीले सो राजमार्गमा ठुलो क्षति पुगेको छ । सो ठाउँमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन हुँदै आएको छ ।
बिपी राजमार्ग काठमाडौँ–धुलिखेल–सिन्धुली–बर्दिबास हुँदै तराई जोड्ने प्रमुख मार्गहरूमध्ये एक हो । यो मार्ग अवरुद्ध हुँदा काठमाडौँ–जनकपुर–बर्दिबास–इटहरीतर्फको सवारी सञ्चालनमा पनि असर पर्छ । त्यस्तै रामेछाप, ओखलढुङ्गा, सोलुदेखि पूर्वको भोजपुरसम्म जाने यातायात साधन यही मार्ग भएर चल्ने गर्दछन् ।
स्थानीय बासिन्दाहरूले राजमार्ग आसपासमा ढुङ्गा झिक्दा र क्रसर उद्योग सञ्चालनले माटो कमजोर बनेको भन्दै दीर्घकालीन समाधानका लागि पहल गर्न माग गरेका छन् । मापदण्ड विपरीत सञ्चालन भएका ढुङ्गा खानी र क्रसर उद्योग बन्द गर्नु पर्ने उनीहरूको माग छ ।

