काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीको सचिवालय अनुसार बैठक आइतबार (आज) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ।
बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिकमतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहनेछ।
प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा सङ्घ र प्रदेश सरकारबिच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जानकारी दिएको छ । यसअघी निर्वाचनको माहोल बनाउने भन्दै प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेता‚ जेनजी प्रतिनिधि तथा राजनीतिक दल जेनजीको संयुक्त बैठक र संवाद पनि गरेकी छन् । अनौपचारिक रूपमा उनले सम्पूर्ण क्षेत्रका प्रतिनिधिहरूसँग संवाद र सहकार्य गरिरहेको सचिवायले जानकारी दिएको छ ।

