Harsamaya
सरकारको पहलमा राजनीतिक दल र जेनजीबिचको संवादमा ‘आइस ब्रेक’

काठमाडौं - संसदीय निर्वाचन आउन चार महिनाभन्दा केही समय बढी रहँदा त्यसको माहौल निर्माणमा सरकार जुटेको छ । केही समय अघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा सरकार र राजनीतिक दल बिचको सम्बन्धमा आइस ब्रेक भएपश्चात् निर्वाचनको वातावरण बन्न थालेको थियो ।

बुधबार सरकारले पहल गर्दै राजनीतिक दल र जेनजी बिचको सम्बन्धमा आइस ब्रेक गर्दिए पश्चात् वातावरण थप सहज हुन थालेको हो । २३ र २४ भदौको जेनजी विद्रोह तत्कालीन सत्तारूढ तथा पुराना दलहरूविरूद्ध थियो । सकसपूर्ण परिस्थितिमा सत्ता छाडेर प्रधानमन्त्री केपी शर्मा ओली हिँडेपश्चात् २७ भदौमा विद्रोहले सार्थकता पाएको थियो । जेनजी विद्रोहको बलमा प्रधानमन्त्रीमा सुशीला कार्की चयन भएकी थिइन् ।

राष्ट्रपति रामचन्द्र पौडेलकै भाषामा ‘बढो जुक्तिका साथ’ संविधान जोगाउँदै बनेको सरकारले २१ फागुनमा निर्वाचन गर्ने म्यान्डेट बोकेर आएको छ । उक्त निर्वाचनको वातावरण बनाउन पनि विद्रोहको ‘स्टेकहोल्डर जेनजी’ र विद्रोहको कारक ‘राजनीतिक दल’ बिच संवादको सेतु आवश्यकता थियो नै । त्यही आवश्यकताको पूर्तिको सुरुवात बुधबारबाट भएको छ । जसले निर्वाचनको माहौल र वातावरण बनाउने विश्वास गरिएको छ । बैठक पश्चात् प्रतिक्रिया दिने क्रममा सरकार पनि निर्वाचनको माहौल बनेको भन्दै उत्साहित भएको छ । 

४ घण्टा सम्म भएको छलफलमा राजनीतिक दल र जेनजी बिच वार्ता संवाद हुन नसकेको अवस्थाको अन्त्य हुनु एकदमै सकारात्मक भएको सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलको प्रतिक्रिया दिए । “छलफल सौहार्दपूर्ण भयो । सबैले सकारात्मक रूपमा छलफललाई लिएको र अबको मुलुकको बाटो सहज र सामान्यीकरणमा जान्छ । चुनावको माहौल बन्यो‚” खरेलले भने। 

 के भयो बुधबारको बैठकमा ? 

बैठकमा सरकारले मुख्य राजनीतिक दल तथा जेनजी प्रतिनिधिहरूलाई बोलाएको थियो । बैठकको सुरुवात गर्दै प्रधानमन्त्री सुशीला कार्कीले सबै विचारको आदानप्रदान गर्नुपर्ने र त्यसको सुरुवात आजबाट भएको बताएकी थिइन् । उनले सरकार‚ राजनीतिक दल र जेनजीबिच बारम्बार संवाद भए मात्र विद्रोहले उपलब्धि दिने धारणा राखिन् ।

बैठकलाई सुरुवात गर्दै प्रधानमन्त्री कार्कीले मुलुक सबैको भएको भन्दै थपेकी थिइन्-“मुलुक हाम्रो हो। हामीले नै बनाउने हो । हामीले नबनाए कसैले बनाइदिँदैन । एक पटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ ।” बैठकमा राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रधानमन्त्री र अभिभावकीय संस्थाको रूपमा राजसंस्था ल्याउनुपर्ने धारणा राखेको थियो । बैठक पश्चात् जानकारी दिँदै राप्रपा नेता राजेन्द्र गुरुङले राजा दल र जेनजीबिच छलफल गर्नुपर्ने माग राखेको र देशले जित्ने परिस्थिति निर्माण गरिनुपर्ने धारणा राखेको बताए । 

राष्ट्रको सन्तुलनको लागि राप्रपाले राजाको अपरिह्यर्ता बारे बोलेको भन्दै उनले भने-“अहिले अधुरो र अपुरो विद्रोह भयो भने अर्को विद्रोह नहोस् त्यसैले अभिभावकीय संस्थाको रूपमा राजा अपरिहार्य हो भनेका छौँ।” यस्तै नेकपा एमालेले भने संसद् पुनर्स्थापनाको माग बैठकमा राखेको छ । आफूहरू चुनावसँग नडराउने र जनतामाझ गएर परीक्षित हुन तयार भएता पनि चुनावको माहौल भने बनी नसकेको एमालेको ठहर छ । 

एमालेले संसद् पुर्नस्थापना गरेर जेनजीको माग पूरा गर्न सकिने धारणा राखेको छ । यस्तै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले फागुनमा मौसम र सुरक्षाको कारण देखाउँदै निर्वाचन हुन सक्छ भन्दै प्रश्न गरेका थिए । सञ्चार मन्त्री खरेलका अनुसार काँग्रेसले प्रश्न उठाएता पनि सरकारलाई चुनावका लागि जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता काँग्रेसले जाहेर गरेको खरेलले थपे । 

 बैठकमा जेनजी पक्षले पनि निर्वाचन पहिलो प्राथमिकता भए पनि सँगसँगै सुशासन र भ्रष्टाचार विरुद्धको कारबाही पनि महत्त्वपूर्ण र सरकारले सँगसँगै अघि बढाउनुपर्ने विषय भएको भन्दै कुरा राखेको थियो । 

 बैठक पश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै जेनजी प्रतिनिधि ख्याम राज साउँदले त्रिपक्षीय बैठकमा आसन्न निर्वाचन तोकिएकै मितिमा कसरी सम्पन्न गर्ने भनी छलफल भएको जानकारी दिए ।

“अन्य दल चुनावमा सकारात्मक भए पनि एमालेले फरक मत राख्दै संसद् पुनर्स्थापना हुनुपर्छ भन्यो । हामीले त्यो हुनुहुन्न भयो भने जेनजी आन्दोलन संस्थागत हुँदैन भनेर भन्यौँ‚” उनले भने । उनले यो संवादको सुरुवात भएको र यसलाई अझै निरन्तरता दिने पनि बताए । यता जेनजीको तर्फबाटै बैठकमा सहभागी सागर ढकालले पनि निर्वाचनमा दलहरूलाई बाइपास गरेर जान नसकिने भन्दै पहिलो चरणको वार्ता सकारात्मक भएको बताए ।

उनले निर्वाचनको समयमा सबै पक्ष कसरी अघि बढ्ने भन्ने विषयमा सबैले धारणा राखेको बताए । “चुनावको विकल्प छैन । त्यो कसरी सम्भव हुन्छ । विदेशमा बस्नेहरूले मतदान कसरी गर्ने भन्ने विषयमा पनि छलफल भयो‚” उनले भने । सञ्चार मन्त्री खरेलले पनि चुनावको सन्दर्भ सहित सुशासनको सन्दर्भ भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा पनि गहन छलफल भएको जानकारी दिए । साथै सबै राजनीतिक दलले चुनाव स्वीकारेको र स्पष्ट शब्दमा दलहरूले निर्वाचनमा जान सहयोग गर्ने धारणा राखेको खरेलले बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  २२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update