सिराहा - सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको छठ पर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन भएको हो । बिहानै व्रतालुहरूले छठ घाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ दिएका छन् ।
कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, षष्टि तिथिको दिन अर्थात् आइतबार सन्ध्याकालीन र आज सोमबार प्रभातकालीन सूर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्व विधिवत् रूपमा समापन भएको छ ।
सूर्यको आराधनाबाट चर्म रोग निको हुने, सन्तान र धन लाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।
सुरुमा तराइवासीले मात्र मनाउने यो पर्व अब अन्य जाति एवं राजधानी लगायत पहाडमा पनि मनाउन थालेका छन् ।

