Harsamaya
आजको मौसमः गण्डकी प्रदेशमा भारी वर्षा र हिमपातको संभावना‚ अन्य कस्तो?
फाइल तस्बिर

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र बागमती प्रदेशको केही भूभागमा छिटपुट वर्षा भइरहेको छ । शाखाका अनुसार पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसममा रहको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ ।

आज राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षासहित हिमपातको  सम्भावना रहेको छ ।

गण्डकी प्रदेशमा भारी वर्षासहित हिमपातको पनि सम्भावना रहेको हुँदा ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update