रौतहट - लोक आस्थाको महापर्व छठ पुजाको आज तेस्रो दिन जलाशयमा पुगेर व्रतालुहरुले अस्ताउँदै गरेको सुर्यलाई अर्घ दिन थालेका छन ।
कार्तिक शुक्ल चौथी तिथी देखि सुरु भएको छठको पहिलो दिन नहाय खाय, दोश्रो दिन खरनाको बिधि सकेका व्रतालुहरुले आज मुख्य दिन अस्ताउदै गरेका सुर्यलाई अर्घ दिन जलाशय पुगेका हुन । अहिले चन्द्रपुर, दुर्गा भगवती, गौर, गरुडा, इशनाथ, कटहरिया, गढीमाई, माधवनारायण सहित जिल्लाका १८ वटै पालिकामा रहेका पवित्र जलाशय, पोखरी, नदी किनारमा भिडभाड बढेको छ ।
जिल्ला प्रहरी कार्यलय रौतहटले छठघाटहरुमा सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । छठको चौथो दिन बिहान उदाउँदै गरेको सुर्यलाई व्रतालुहरुले अर्घ दिएपछि चार दिने महापर्व सकिन्छ ।
नयाँ माटोको चुल्हो वा ग्यास चुल्होमा खाजा, ठेकुवा, कसार, पुरिकिया, खजुरी सहितका सामग्रीहरू बनाएर बाँसको छैटी,डलिया र सुपलीमा राखेर छठ घाटमा गएर पुजा गर्ने धार्मिक प्रचलन रहेको छ ।

