रौतहट - रौतहट सहित तराई मधेसमा अझैपनि जातीय छुवाछूत कायम नै रहेको छ । तर छठ पर्वले जातीय भेदभाव धनी र गरिब बिचको असमानता भावनाको पनि अन्त्य गरेको देखिन्छ ।
यस पर्वमा समाजमा उपेक्षित मानिने डुम समुदायले बनाएको बासको चोयाको सुपली, नाङ्गलो र डालाको प्रयोग गरिन्छ । यसमा नै छठको प्रसाद ठेकुवा, भुसुवा र खाजाजस्तो परिकार चढाइन्छ । यो छठ पूजाका लागी अति आवश्यक सामाग्री मानिन्छ ।
यस पर्वले छुवाछुतको भाव नराख्ने र सबै मानिसको अस्तित्वलाई स्वीकार गरेको ईशनाथ नगरपालिका औरैयाका अगुवा किशोरी यादवले बताए । आफूहरूले पनि नदी तथा पोखरी किनारमा सामूहिक रूपमा छठ मनाउने व्यवस्था गरेको बताए ।
यति बेला छठ पर्वले गर्दा रौतहटका प्रमुख बजारहरू चन्द्रनिगाहपुर, गरुडा र सदरमुकाम गौरमा व्रतालुहरूको चहलपहल निकै बढेको छ । छठ पर्वका लागि आवश्यक पूजाका सामग्री किनमेल तथा परिवारिक जमघटले बजारहरूमा चहलपहल र भिडभाड बढेको देखिन्छ । लुगा कपडा, मिठाइ, फलफूल पसलहरूमा भिड छ भने पर्वले गर्दा पूजा सहितका आवश्यक सामग्रीहरूको पनि मूल्य बढेको पाइन्छ ।
सूर्य उपासनाको महापर्व छठ पूजाको दोस्रो दिन आज व्रतालुहरूले खरना मनाउने गर्छन् । जसमा व्रतालुहरू निर्जल रही बेलुका माटोको चुल्होमा खिर र रोटी पकाई भगवान् लाई चढाएर त्यही प्रसाद खाने गर्दछन्। त्यसपछि ३६ घण्टा लामो निर्जल र निराहार भई व्रत सुरु हुन्छ ।
भोलि सोमबार साँझ अस्ताउँदो र पर्सी मङ्गलवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिए पछि चार दिनको यो पर्व सकिन्छ । यस पर्वका लागि यहाँका छठ घाट सजावटको काम अन्तिम चरणमा पुगेको छ ।
अहिले छठ पूजा हुने पोखरी, तलाउ तथा नदी किनारहरू दुलही झैँ श्रृगारिँदै छन् भने भजन कीर्तनका गीतहरूले यहाँको वातावरण नै भक्तिमय बन्न थालेको छ ।

