काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रंकलाइन प्रयोग गरेर त्यसवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ । यसअघि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली काटेको हो ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार हिजो पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको बिजुली काटिएको हो ।
देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोजौं
गृह मन्त्रालयले कुनै पनि माग वार्ता र संवादमार्फत समाधार खोज्न सबैमा अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएरहेको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सबैका जायज माग, चासो एवम् सरोकारलाई सम्बोधन गर्न सरकार गम्भीर रहेको स्पष्ट पारेका छन् ।
जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपश्चात् गठन भएको वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउनेतर्फ क्रियाशील रहेको स्मरण गराउँदै मन्त्रालयका प्रवक्ता काफ्लेले सोही अनुसार सरकारले निर्वाचनसम्बन्धी कानुनमा संशोधन, स्रोत र साधनको व्यवस्थापन, राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ता र संवाद गरिरहेको जानकारी दिए ।
संसद भवन निर्माणको काम समयमै सक्न निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले संसद भवन निर्माण कार्यमा देखिएका ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले भने, ‘पहिलो पटक सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन अवलोकन गर्दा पुरानो संसद भवन जेनजी आन्दोलनका क्रममा आगलागी भएर पूर्ण रूपमा ध्वस्त भएको अवस्था छ । अब निकट भविष्यमा राष्ट्रियसभा बैठक र फागुन २१ गतेपछि निर्वाचित प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नुपर्ने भएकाले नयाँ भवन समयमै सम्पन्न गर्न अत्यावश्यक छ ।’
माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा
स्थानीय प्रशासनबाट अनुमति नलिइ काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई आज नेपाल प्रहरीले हिरासतमा लिएको छ । आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो । स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौँले जनाएको छ । नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन् ।
घाइते र सहिदको रगतमा उभिएर बनेको सरकारले जेन–जीमाथि नै दमन गर्यो
शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेन–जी युनाइटेड समूहले आपत्ति जनाएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै जेन–जी युनाइटेडका अगुवाहरुले सरकारको विरोध गरेका हुन् । जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेशन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरुलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए । उनले भने, ‘हामी जेन–जीहरु आन्दोलन गर्दैगर्दा युनिफिकेशन हुनुपर्छ भन्न पनि नपाउनु ? अब हुँदैन यसरी । सरकारले हाम्रा साथीहरुलाई छोड्नुपर्यो । हाम्रो मागहरु छिटो पूरा गर्नुपर्यो । हाम्रो युनिफिकेशन क्याम्पियन जहिलेसम्म पूरा हुँदैन, त्यतिबेलासम्म लागिरहने हो ।’
पाकिस्तानी ध्वजाबाहक विमानद्वारा पाँच वर्षपछि बेलायतका लागि पुनः उडान
बेलायतले उड्डयन सुरक्षाको चिन्ताका कारण लगाइएको पाँच वर्षको निलम्बन अन्त्य गरेपछि पाकिस्तानको सरकारी स्वामित्वको विमान कम्पनीले शनिबार बेलायतका लागि सीधा उडान पुनः सुरु गरेको छ। पाकिस्तानी ध्वजाबाहक विमान एयरबस ए ३२० कराँचीको नजिकै दुर्घटना भई करिब १०० जनाको मृत्यु भएको एक महिनापछि ऋणमा डुबेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआईए) लाई सन् २०२० को जुनमा बेलायत, युरोपेली संघ र संयुक्त राज्य अमेरिका उडानमा रोक लगाइएको थियो । उक्त घातक दुर्घटनामा मानवीय त्रुटि भएको आरोप लगाइएको थियो।
नेपालकी सुस्मिता भारतकी स्टार फाइटर सोनम सँग भिड्दै
तेक्वान्दो पछि मुवाथाईमा चम्किरहेकी गण्डकीकी फाइटर सुस्मिता थापा मगरले भारतको स्टार फाइटर सोनम जोम्बासँग भिड्ने भएकी छन् । नोभेम्बर ६ मा भारतको अरुणाचलमा हुने अन्तर्राष्ट्रिय फाइट च्याम्पियनसिपको मेन इभेन्टमा सुस्मिताले सोनमको सामना गर्ने भएकी हुन् ।
सुस्मिताको लागि यो करियरकै ठूलो फाइटको रुपमा रहेको छ । भारतको चर्चित एमएमए (मिक्स मार्सलआर्ट) स्टार तथा एमएफएन (म्याट्रिक फाइट नाइट) च्याम्पियन सोनम जोम्बासँग किक बक्सिङमा भिड्ने छिन । सुस्मिता र सोनम बीच प्रतिस्पर्धा हुने हालैमात्र घोषणा भएको सुस्मिताका प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार सुस्मिताको लागि यो अवसर र चुनौती हो । सुस्मिता यतिबेला रिब्समा लागेको चोटका कारण अनफिट रहेपनि ठूलो प्रतिस्पर्धा भएकाले खेल्न राजी भएकी हुन् ।

