Harsamaya
हेटौँडामा छठ पर्वको तयारी धमाधम, राप्ती तट झिलिमिली बत्तीले सजियो
तिहार पर्वको समापनसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा अहिले छठ पर्वको तयारी धमाधम ।

हेटौँडा - तिहार पर्वको समापनसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा अहिले छठ पर्वको तयारी धमाधम भइरहेको छ ।

तराई–मधेशसहित देशकै प्रमुख चाडको रूपमा मनाइने छठ पर्वलाई लक्षित गर्दै हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको तट रंगीन र झिलिमिली बत्तीले सजिएको छ ।

संयुक्त मधेशी सेवा समाज नेपाल छठ पूजा समारोह समितिका अनुसार राप्ती नदी किनारमा व्रतालुहरू बस्न मिल्ने गरी टेन्ट निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। साथै, पूजास्थल वरपरको सरसफाइ र सिँगारी–सजावटको काम पनि सकिँदै गएको छ ।

हेटौँडा बजार क्षेत्रको राप्तीरोडदेखि राप्ती पुलसम्म रंगीन बत्ती, स्वागत गेट र सहायक गेटहरू निर्माण गरिएको समितिले जनाएको छ । तराईमा मात्र सीमित यस पर्व अहिले पहाडी क्षेत्रमा पनि समान उत्साहका साथ मनाइँदै आएको छ ।

मकवानपुरमा छठ मनाउनेको संख्या प्रत्येक वर्ष बढ्दै गएको र यसले मधेशी तथा पहाडी समुदायबीचको सद्भाव अझ प्रगाढ बनाएको आयोजकहरूको भनाइ छ।

यस वर्ष हेटौँडाको राप्तीतटमा करिब ६२ हजार भक्तजन सहभागी हुने अनुमान गरिएको छ । सामूहिक पूजाका लागि २० फिट चौडा र ६५० फिट लामो ३५ वटा पण्डाल निर्माण भइरहेको संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरका सचिव नन्दलाल दासले जानकारी दिए ।

छठ पर्वका लागि व्रतालुहरूले आवश्यक सामग्रीको तयारी पनि सुरु गरिसकेका छन् । छठको मुख्य प्रसादका रूपमा केरा, फलफूल, मिठाई, अदुवा, उखु, बाँस र माटोका सामग्री किनमेल भइरहेको हेटौँडा–२ निवासी सुमित्रा साह हलुवाइले बताइन् ।

यस वर्ष कात्तिक ८ गतेदेखि छठ पर्वको विधिवत् आरम्भ हुने छ । पहिलो दिन व्रतालुहरू ‘नहाय–खाय’ विधिद्वारा छठ सुरु गर्छन्। दोस्रो दिन खरना पूजा गरिन्छ । तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसेपछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरी व्रत समापन गरिन्छ ।

छठ पूजा समारोह २०८२ का संयोजक रविरंजन कुमार कलवारका अनुसार पारिवारिक सुख, शान्ति, रोगमुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धा र विश्वासका साथ छठ पर्व मनाइन्छ।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update