Harsamaya
छठ पर्वको तयारी धमाधम

जलेश्वर - तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको तयारी धमाधम सुरु भएको छ ।

मिथिलाको प्रमुख पर्वको रुपमा मानिने छठका लागि यहाँका पोखरी, नदी, तलाउहरुमा तयारी सुरु भएको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रूव रायले जानकारी दिए । सूर्य भगवान तथा छठी माताको पूजा पानीमै गरिने भएकाले मिथिलाञ्चलका जलाशयहरुमा सरसफाई, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मत भइरहेको जलेश्वर नगरपालिका–८ का वडा अध्यक्ष विजयकुमार सिंहले बताए ।

मिथिलाञ्चलमा छठ पर्वलाई निष्ठा र श्रद्धाको पर्व मानिन्छ । मिथिलावासीहरु यस पर्वलाई धुमधामका साथ मनाउने भएकाले एक साता पहिलेदेखि तयारी सुरु गरिएको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले बताए ।

सूर्य तथा छठीमाताको पूजाका लागि जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीको बीचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै तैरिने बाँसको बाटो निर्माण गरिँदै छ । पाँच सय मिटरसम्म गुफाबाला पंडाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिए ।

जलेश्वर नगरपालिका–१स्थित बरुण सरोवरमा पनि छठ पर्वको लागि चारैतिर ठूल–ठूला पंडाल, रंगीचङ्गी साजसज्जा भइरहेको वडा अध्यक्ष अनिल झाले बताए ।

यसैगरी जिल्लाको मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायतका स्थानमा नदीमा छठ पर्व मनाउने चलन रहेकाले ती स्थानका नदीहरुमा धमाधम तयारी भइरहेको जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्णले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update