Harsamaya
दार्चुलामा जात्राको रौनक सुरु

दार्चुला - तिहारसँगै दार्चुलाका विभिन्न स्थानमा जात्राको रौनक सुरु भएको छ । भाइटीका अर्थात् द्वितीया तिथिबाट सुरु हुने जात्रा पूर्णिमाको दिन सकिन्छ ।

यहाँका शैल्यशिखर, महाकाली नगरपालिका, मालिकार्जुन र लेकम गाउँपालिकामा करिब एक महिनासम्म रात्रिकालीन जात्रा लाग्ने गर्छ । शैल्यशिखर नगरपालिकाको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर चौडमा आजदेखि जात्रा सुरु हुन्छ ।

जिल्लाको सबैभन्दा ठूलो शैल्यशिखरमा त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चतुर्दशीमा सकिन्छ । यहाँको लेकाली क्षेत्रमा दसैँतिहारभन्दा जात्रालाई बढी महत्त्व दिइन्छ । आजको दिन भाइटीका लगाएपछि जात्रा लाग्ने गर्छ ।

यहाँका स्थानीयले जात्राको तयारी एक महिनाअघिदेखि सुरु गर्छन् । जात्राको पूर्वसन्ध्यामा लेकम–५, मैखोली खर्क र मालिकार्जुन–३, चौडमा सरसफाइ गरिएको स्थानीय राधावल्लव जोशीले जानकारी दिए ।

लटिनाथ मन्दिर बन्तोलीको व्यवस्थापन समितिले जात्रा अवधिभर मदिरा सेवन, जुवातास र अवाञ्छित गतिविधि पूर्ण रूपमा निषेध गरेको जात्रा संयोजक मनिराज जोशीले बताए ।

जात्रामा भक्तजनले पूजाआजा गर्नुका साथै दमाहालगायत बाजा बजाउने, डेउडा खेल्ने गर्छन् । पहाड पुर्ख्यौली घर भई तराई बसोबास गरेका तथा कामका सिलसिलामा गाउँबाहिर गएकाहरू समेत जात्राका निम्ति फर्किएपछि यहाँ चहलपहल बढेको छ ।

जात्रालाई शान्त र भयरहित बनाउन जिल्ला प्रशासन कार्यालयले सुरक्षा रणनीति बनाएर सुरक्षाकर्मी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update