Harsamaya
बादी बस्ती: तिहार आयो तर रौनक आएन

कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको रौनक छैन । देशभर दीपावलीको रौनकता छाएको बेलामा पनि बादी बस्ती भने सुनसान छ । बस्तीमा महिला, बालबालिका र वृद्धबृद्धा मात्रै छन् ।

बस्तीका अधिकांश युवा मजदुरीका लागि भारततर्फ गएका छन् । महिनौँअघि भारत गएका युवामध्ये कोही बिदा नपाएर फर्कन सकेका छैनन् भने कोहीले काम नपाउँदा खर्चको अभावमा घर आउन सकेका छैनन् ।

बस्तीकी रत्ना कुमाल (बादी)ले बिहान–साँझको खाना जुटाउनै मुस्किल पर्ने भएकाले चाडपर्व आए पनि कुनै फरक नपर्ने बताइन् ।  “मिठो–मसिनो खाने, नयाँ लुगा लगाउने रहर त सबैलाई हुन्छ, तर पेट पाल्न गाह्रो हुँदा तिहार लगायतका चाडपर्व आएको महसुस नै भएको छैन,” उनले भनिन् । 

बस्तीकी वृद्धा शान्ति कुमाल अहिले आफ्ना नाती–नतिनाको हेरचाह गर्दै आएकी छन् । उनका छोरा र बुहारी भारतमा मजदुरीका लागि गएका छन् महिना भइसकेको छ । “तिहारमा फर्कन्छु भनेका थिए, तर तलब नपाउँदा आउनै सकेनन्,” उनले भनिन् । 

पदमबहादुर राना (बादी) का अनुसार बस्तीमा ६२ घरधुरीमध्ये करिब २५ परिवार मात्रै छन् । बाँकी सबै मजदुरीका लागि भारततर्फ गएका छन् । 

“बादी समुदायका परिवारसँग आधा कठ्ठा वा एक कठ्ठा मात्र जग्गा छ, त्यहीँ घर बनाएका छौँ,” उनले भने, “कमाउने ठाउँ नहुँदा घरमा ताला लगाएर हिँड्नुपर्ने बाध्यता छ ।”

पहिले माटाका भाँडा बनाउने, मादल बनाउने र विवाहजस्ता चाडपर्वमा नाचगान गरेर जीविका चलाउने परम्परागत पेसा अहिले हराइसकेको छ । उनका अनुसार समयको परिवर्तनसँगै त्यो व्यवसाय टिक्न नसकेपछि बादी समुदायको आयस्रोत समाप्त भएको छ ।

“बादी समुदायका लागि सरकारले आयमूलक रोजगारीका अवसर सिर्जना गर्नुपर्ने हो,” उनले भने, “तर केन्द्रदेखि स्थानीय तहसम्म कसैले पनि हाम्रो जीवनस्तर सुधार्न चासो देखाएको छैन ।” 

शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता संविधानमै व्यवस्था भएका मौलिक हकसम्बन्धी अधिकारबाट बादी समुदाय अझै बञ्चित रहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update