करेन्ट लागेर पूर्व वडाअध्यक्षको मृत्यु

रौतहट - रौतहटको गौरमा करेन्ट लागेर पूर्व वडाअध्यक्षको मृत्यु भएको छ । गौर नगरपालिका–५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको बुधबार करेन्ट लागेर मृत्यु भएको हो ।
नेकपा एमाले रौतहट जिल्ला कमिटी सदस्य समेत रहेका यादवको करेसाबारीमा विद्युतीय मोटरमार्फत पानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।
करेन्ट लागेपछि अचेत भएका यादवलाई प्रादेशिक अस्पताल गौर उपचारका लागि ल्याइएको थियो । उनको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
प्रादेशिक अस्पताल गौरका चिकित्सकले उनलाई ४:३० बजे मृत घोषित गरेका हुन् । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमै राखिएको छ । स्थानीय राजनीतिमा सक्रिय यादव समाजसेवीका रूपमा परिचित थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२ २०:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय