
देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
सरकार चुनाव गराउन कटिबद्ध छः प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समय (२१ फागुन)मा सरकार चुनाव गराउन कटिबद्ध रहेको बताएकी छन् । उनले भयरहित वातावरणमा सरकारले चुनाव गराउने पनि बताइन् । मंगलबार राजनीतिक दलहरूसँगको संवादमा उनले निर्वाचनकै निमित्त अहोरात्र खटिएर मन्त्रीहरू मात्र होइन सुरक्षा निकायलगायत काम गरिरहेको बताइन् । छलफलमा दलहरूले भयरहित वातावरणमा सरकारले निर्वाचन गराउन सक्नेमा आशंका गरेपश्चात् उनले यस्तो जवाफ दिएकी हुन् ।
विपिन जोशीको अन्त्येष्टि
इजरायल–हमास युद्धका क्रममा मृत्यु भएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । महाकालीको भुजेलाघाटमा उनले अन्त्येष्टि गरिएको हो ।
विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । सोमबार दिउँसो काठमाडौं ल्याइ पुर्याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी हुदैँ कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको थियो ।
प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन् । आज बिहान भएको छलफलमा घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् । भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताए ।
वक्यौता नतिरेका सात उद्योगको लाइक काटियो
वक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले उद्योगहरूको विद्युत् लाइन काटेको छ । प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेका ६ उद्योगमा लाइन काटेको हो।
प्राधिकरणले मंगलबार बिहानबाट ६ वटा उद्योगमा लाइन काटेको हो । सुरुमा सबैभन्दा धेरै बक्यौता रहेका उद्योगको लाइन काटेको प्राधिकरणले बताएको छ। यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगको विद्युत लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेको कारण शिवम सिमेन्ट उद्योगको लाइन काटेको हो ।
जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज जुवा खेल्दै गरेको अवस्थामा जुवाखालबाट नौ लाख २३ हजार ९६० नगरसहित २७ जनालाई पक्राउ गरेको छ । प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए । प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । यस्तै आज बिहान कञ्चनपुरको बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकाका छुट्टाछुट्टै ठाउँमा प्रहरीले छापा मारेर जुवा तास खेलिरहेका १५ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बिहान करिब ४ बजे बेल्डाडी गाउँपालिका–२ चौवन्नी बजारस्थित लोकेन्द्र बडालले सञ्चालन गरेको झलक क्याफेको दोस्रो तलामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको टोलीले छापा मार्दा जुवातास खेल्दै गरेका आठ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुबाट रु २७ हजार आठ सय ६५ नगद रकम बरामद गरेको छ । यस्तै प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा उनीहरुबाट नगद ६ लाख दुई हजार १०५ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
जापानको पुरुष–प्रधान राजनीतिमा दुर्लभ रूपमा शीर्ष स्थानमा पुगेकी अल्ट्रा रूढीवादी नेत्री साने ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छिन् । ६४ वर्षीया ताकाइची जापानको युद्धपछिको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) की पहिलो महिला अध्यक्षसमेत हुन् । उनी पूर्वप्रधानमन्त्री सिन्जो आबेका नजिकका सहयोगी र उनकै रूढीवादी दृष्टिकोणकी दृढ समर्थक रहेकी छिन् । साथै, उनले पूर्व बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरलाई आफ्नो प्रेरणाका रूपमा सम्मान गर्दै आएकी छिन् । चीन र कोरियाले विवादास्पद मानेको यासुकुनी मन्दिरमा नियमित रूपमा दर्शन गर्न जाने ताकाइचीलाई ‘चिनियाँ बाज’ भनेर पनि चिनिन्छ । यो मन्दिर जापानको द्वितीय विश्वयुद्धकालीन आक्रमणको प्रतीक मानिँदै आएको छ ।
छेडेदह क्रिकेट कप हुने
बाजुराको छेडेदह स्पोट्र्स क्लवले यो बर्ष जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । हरेक वर्ष नेपालीहरुको महान चाड दिपावलीको अवसरमा फुटबल प्रतियोगिता गर्दै आएको स्पोट्र्स क्लवले यो वर्ष भने क्रिकेट प्रतियोगिता गर्ने भएको हो । खेल उत्सवको रुपमा आयोजना हुदैं आएको सुन्दर नगरी आटीचौरमा स्पोर्ट्स क्लबको आयोजनामा यहि कार्तिक ६ देखि ८ गतेसम्म प्रथम छेडेदह कप क्रिकेट प्रतियोगिता २०८२ सञ्चालन हुने भएको छ ।