Harsamaya
सभामुखले राजनीतिक ‘कू’ गर्न खोजे : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत ।

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सभामुख देवराज घिमिरेले राजनीतिक ‘कू’ गर्न खोजेको आरोप लगाएका छन् ।

बुधबार सभामुख घिमिरेले दलका प्रतिनिधिहरुसँग संसद पुनस्र्थापनाबारे गरेको छलफलबारे धारणा राख्दै उनले उक्त कुरा बताएका हुन् ।

बस्नेतले भने, ‘प्रतिनिधिसभा विघटन र वर्तमान सरकारको गठन जेनजी आन्दोलनका उपज हुन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन र भ्रष्टाचारीमाथि कारबाहीे आन्दोलनले दिएको म्याण्डेट हो । विघटीत संसद पुनस्र्थापनाको बहस औचित्यहिन हो । सभामुखले राजनीतिक षड्यन्त्र गर्न खोजेको देखियो ।’

जेनजी आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै दलहरुलाई विश्वासमा लिएर मुलुकलाई निर्वाचनमा होम्नका लागि सरकारले उपयुक्त वातावरण बनाउनुपर्नेमा बस्नेतले जोड दिए । 

निर्वाचनलाई स्वस्थ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार निर्वाचन कार्य सम्पन्न हुनुपर्ने उनको भनाइ छ । निर्वाचन आयोगले आज सबै राजनीतिक दलहरुसँग आगामी फागुन २१ मा हुने प्रतिनिसभा सदस्यको निर्वाचनबारे छलफल गर्दैछ ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update