
रौतहट - रौतहटमा ४ लाख भन्दा बढीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गौरमा अहिले दुई वटा स्टल राखेर मतदाता परिचय पत्रको लागी फोटो सहितको मतदाता नामावली दर्ताको कार्य भइरहेको छ । रौतहटको चार निर्वाचन क्षेत्रमा ४ लाख २१ हजार ६ सय ९३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटे लाल दासले बताए ।
उनका अनुसार पुरुष २ लाख ३१ हजार ४ सय ३ र महिला एक लाख ९० हजार २ सय ८९ र तेस्रो लिङ्गी एक जना छन् । नेपाल सरकारले २०८२ फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ ।
निर्वाचनको मिति घोषणा भएपछि असोज १० देखि २७ गते सम्म रौतहटमा पुरुष ४ सय ९ र महिला १ सय ९७ गरी ६ सय ६ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गरेको उनले जानकारी दिए ।
उनले २०७९ सालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि ६ हजार २ सय मतदाता थपिएको बताए । निर्वाचन आयोगको केन्द्रीय निर्देशन अनुसार नै कार्यालयले काम अघि बढाएको उनले उल्लेख गरे । यद्यपि तोकिएको समयमा निर्वाचन हुने वा नहुने भन्ने विषयमा यहाँका बासीको मिश्रित प्रतिक्रिया छ ।