
…. कुनैबेला म गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत थिंए।सो शाखामा अधिकृत भएर कार्यरत भए पनि म वास्तविक रुपमा जगेडा अधिकृतको रुपमा आफुभन्दा माथिका पदाधिकारीहरुले लाए-अह्राएको काम गर्ने एउटा निरीह कारिन्दा जस्तोमात्र थिएँ । म सँगैका अर्का अधिकृत अति नै व्यस्त र प्रमुख भूमिकामा थिएँ । शाखा एउटै र समान स्तरको कर्मचारी भए पनि उनको दौडधुप चल्तीको रुपमा रहेको थियो । कहिले सह-सचिव, सचिव र मन्त्रीबाट उनको बोलाहट भई नै रहन्थ्यो र उनी एउटा गोप्य फाइल बोकेर आफूभन्दा माथिल्लो निकायबाट बोलाएको हाकिम कहाँ पुगेर फर्कन्थे । कहिले एकदम व्यस्त भएर आफ्नो सिटमा एकछिन पनि नबसी गोप्य कम्प्युटर कक्षमा कम्प्युटर अधिकृतसँग ढोकामा चुकुल लगाएर टाइपमा व्यस्त हुन्थे।
भनिरहनु नपर्ला ती मेरा समकक्षी अधिकृत कर्मचारी सरुवा र अन्य आवश्यकीय गोप्य कामहरु गरिरहन्थे । भनिन्थ्यो पनि गृहको गोपनीयता हदैसम्मको हुन्थ्यो, जुन गोप्य कुरा बाहिर पत्रिकामा आइसकेको हुन्थ्यो तर गृह मन्त्रालयभित्र चाहीँ गोप्य नै हुन्थ्यो। र सो खबर गोप्य नै मानेर कर्मचारी वृत्तमा खासखुसको विषय बन्थ्यो । सम्बन्धित शाखामा बसेर म पनि अन्य श्रोतबाट त्यो गोप्य कुरा थाहा पाउँथे । तर ती समकक्षी मेरा मित्र मलाई कुनै कुरा पनि भन्दैनथे ।
सबै गोप्य काम कुरा ती मेरा मित्र, कम्प्युटर अधिकृत, सचिव र मन्त्रीबीचमात्र सीमित रहन्थ्यो । त्यसैले म लगायत सबै साथीहरुले उनको नाउँ नै गोप्य बहादुर राखिदिएका थियौँ । उनी त्यस शाखामा धेरै वर्ष देखि कार्यरत थिए । गोपनीयता राख्न सक्ने र माथिल्लो हाकिमसँग सुमधुर सम्बन्ध राख्नसक्ने कारणले उनी हाकिमहरुका प्रिय पात्र थिए ।
तर पद तल्लो स्तरका भएको हुँदा उनी आफ्नो बडप्पन कसैलाई पनि देखाउँदैनथे । उनी माथिल्लो तलामा रहेका हाकिमका कक्षमा जाँदा आफ्नो फाइललाई दोब्ऱ्याएर निकै सुरक्षितसाथ लान्थे, मानौं त्यो फाइल नै उनको सम्पुर्ण सम्पत्ति हो र उनी मिलनसार अधिकृतमा नै गनिन्थे ।
हुन त गृह मन्त्रालयका जिल्लातिर हुने सबै कामकाजहरु अद्यावधी कोड भाषामा नै सम्प्रेषित हुन्छन् र गृह मन्त्रालयले पठाएको (समय-समयमा संशोधन गरिएको) डिकोडबाट उल्था गरिने चलन छ। आफूलाई तोकिएको शाखामा आधिकारिक रुपमा कामकाज गर्न नपाएको स्थिति त्यति सहज नहुने रहेछ । म करिब डेढ वर्ष जति रक्षा मन्त्रालय बसेर पुन: गृह मन्त्रालय सरुवा भएर पनि दुई महिना जति कामविहीन भएको स्थिति थियो गृह मन्त्रालयमा । मलाई काम गर्न कर्मचारी प्रशासन शाखामा काजमा खटाइएकोले मैले टेबल-कुर्सीसम्म पाएको थिएँ ।
एकदिन मलाई गोप्य पत्र प्राप्त भयो र पत्र खोली हेर्दा एक सदस्यीय छानबिन समिति गठन गरी प्रतिवेदन पेश गर्न निर्णय भएको रहेछ । पत्रमा ‘नख्खु कारागारबाट कालु तमाङ भन्ने कैदी फरार भएकोले त्यसमा के भएको हो र कसको लापरबाहीले कैदी कारागारबाट फरार भयो ,आवश्यक छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने’ भनी मलाई कार्यादेश दिइएको रहेछ । नख्खु कारागार ललितपुर जिल्ला नख्खु खोलाको किनारमा रहेको जेलको रुपमा मैले बुझेको थिएँ ।
म गृह मन्त्रालयमा सरुवा हुनुपूर्व चालीसको दशकमा दुई पटक त्यो जेलमा मेरा प्रिय चेला विष्णु रिमाल र देबेन्द्रसॅग भेट गर्न पुगेको थिएँ । सो जेलको विषयमा मैले केही अगाडि नै जेलको ऐतिहासिक तथ्यको जानकारी पाएको थिएँ र तत्कालीन मालेका नेताहरुले जेलब्रेक गरेर फरार भएको कहानी पनि सुनेको थिएँ । नेताहरु जेल बसेर निक्लिएपछि लेखेका कहानी पनि पढेको थिएँ । मलाई त्यहाँ गएर अनुसन्धान गरी प्रतिवेदन पेश गर्न दिएको कामलाई अवसरको रुपमा नै मनन गरी यो कार्य गर्न उत्प्रेरित भएँ ।
मेरा पूर्व विद्यार्थी विष्णु रिमाल त्यहाँ कैदी रहेको स्थितिमा भेट्न जाँदा उनले त्यस जेलमा आनन्दपूर्वक बन्दी जीवन बिताएको कुरा सुनाउँदा त्यस्तो रमणीय जेलमा काम गर्न जान म उत्साहित भए । आफूलाई दिइएको जिम्मेवारी सफलतापूर्वक काम सन्पन्न गरी प्रतिवेदन दिनुपर्ने कार्यादेश पुरा गर्न म नख्खु कारागार गएँ । म नख्खु कारागार पुगेर जेलरसँग सम्पर्क गरी फरार कैदी कालु तमाङको बारेको कागजात अध्ययन गर्न थालेको थिएँ ।
कारागारमा अधिकृतको दरबन्दी भए पनि एक तह मुनिको नासुलाई कारागारको प्रमुख बनाइएको रहेछ । उपत्यकाभित्रका कारागारमा समेत पदसोपान अनुसारको कर्मचारी नहुनुलाई कारागार कार्यालयलाई कुन स्तरमा राखिएको भन्ने तथ्यलाई आँकलन गर्न सकिन्छ । कार्यालय प्रमुख हुन पाउने र आवासको समेत व्यवस्था भएको अफिसमा पनि अधिकृत कर्मचारी जान नचाहनुलाई खै कसरी मापन गर्ने ! बहुदलीय व्यवस्था आइसकेको र कर्मचारीहरु विभिन्न कर्मचारी संगठनहरुमा आबद्ध भएको र आफूले इच्छा गरेको ठाउँमा जान सक्ने वातावरण बन्दै गरेकोले होला, कारागारको प्रमुख हुन कसैको पनि प्राथमिकतामा नपरेर तल्लो तहको कर्मचारीलाई नै कायममुकायम मुकरर गरेर राखिएको हुन सक्छ । सायद अधिकृत कर्मचारी नै प्रमुख भएको भए म जगेडा अधिकृतलाई छानबिन गर्न पठाइँदैनथ्यो होला । जे भएपनि एउटा कर्तव्यनिष्ट कर्मचारीको हैसियतले म आफ्नो कर्तव्य निभाउन तल्लीन थिएँ।
एकदिन म आफूलाई कार्यादेश दिए अनुसार तत्कालीन जेलरसँग बयान लिँदै थिए । कमिज-सुरुवाल र इष्टकोट लगाएका एक वृद्ध व्यक्ति आठ-दशजना युवाहरुसँग एक्कासि कोठामा प्रवेश गरे । ‘उनले आफूलाई म पाटनको काईला बा हो…..,एउटा बन्दीलाइ भेट्न आएको !’ भनेर जोडदार रुपमा भन्दै गए । ‘यो बहुदल हामीले..खासमा पाटनेले ल्याएको हो, हाम्रो एउटा बन्दी जेलभित्र छ तुरुन्त यहीँ बोलाउनोस् त’ उनको बोली आदेशात्मक खालको थियो । जेलरले पक्क परेर उनीतर्फ हेरिरहे, सायद उनको आदेशात्मक स्वरले जेलर केही हडबडाएका देखिन्थे । जेलरले सायद काईला बा लाई चिन्दैनथे होला, उनले बन्दीलाई बाहिर भेट्न मिल्दैन….बन्दी भेट्ने ठाउँ कारागारको गेट नजिक छ, त्यहीँ गएर भेट्नुहोस भनेर प्याट्ट भने। मैले जन-आन्दोलनको समयमा उनको नाम सुनेको र उनी कम्यनिष्टका पुराना नेता हुन् भनेर थाहा थियो ।
जेलरको बन्दी भेट्ने नियम र अडिगपना देखेर ती वृद्ध रिसाएर बोल्न थाले । ‘नियम-कानुन मलाई पनि थाहा छ र म पनि २/३ वर्ष यो जेलमा बसेको छु…म अहिले भेट्न आएको बन्दी देबेन्द्रलाई हामीले सल्लाह गरेर युवाहरुले जेलको अनुभव गर्नुपर्छ भनेर जेल पठाएको हौं, केही समयपछि उ छुटिहाल्छ…छिटै बोलाउनुहोस !’ उनले जोडदार रुपमा भनाइ राखे । जेलरले मेरो अनुहारतर्फ हेरे र आदेश मागेको भावमा केही भन्न खोजे । कारागारको नियम अनुसार जेलभन्दा बाहिरको परिसरमा बन्दी भेट्न मिल्ने नियम त थिएन, व्यवहारिक रुपमा राजनीतिक अभियोग लागेको बन्दीलाई जेलरको कक्षमा भेट्न दिनु कुनै अपराध हुदैंनथ्यो । त्यहाँ त्यही विवादले धेरै समय लिने र माथिल्लो निकायमा उनको पहुँच भएकोले मैले इसाराले सकारात्मक संकेत दिँए । उनलाई जेलरको रोहबरमा भेट्न दिएपछि उनि सन्तुष्ट भए र धन्यबाद पनि दिए।
कालु तमाङ फरार भएको कागजात र सम्बन्धित व्यक्तिहरुसँग लिएको बयानबाट मैले निम्न लिखित निष्कर्ष निकालेर समयावधि भित्र नै गृह मन्त्रालयमा प्रतिवेदन बुझाए। कालु तमाङ विगत दुई वर्षदेखि नख्खु कारागारको ए ब्लकमा चौकीदार रहेको थियो । समय-समयमा बन्दीहरुको औषधी, खाद्यसामग्री र आवश्यक चिजबिज किनमेल गर्न सुरक्षाको साथ लागेर उ जावलाखेलको बजारसम्म आउने जाने गर्दथ्यो । उसको सुरक्षासाथ जान प्रहरी जवानहरुमा हानथाप हुने गर्दथ्यो। आफूसँग जानेलाइ उ इच्छाभोजन पनि गराउँथ्यो र ठीक समसमा कारागार फर्कने गर्थ्यो। उ सोझो, इमान्दार र अनुशासित भएर नै जेलभित्रको प्रमुख चौकीदारसम्म हुन पुगेको थियो । जेलर, सुरक्षा र चौकीदारको बीचमा सुमधुर सम्बन्ध कायम रहेको थियो । चौकीदार असल र सक्षम व्यक्ति भएमा उसले कैदीहरुमा अनुशासन कायम गराउन सक्थ्यो,जसले गर्दा सुरक्षा र जेलरलाई हाइसञ्चो हुन्थ्यो ।
जेलभित्र चौकीदार र नाइके मिलेर नै अमनचयन कायम गराउँथे र विवाद बिद्रोह हुँदैनथ्यो। कालु फरार हुने दिन बिहान कालुले वीर हस्पिटल जचाउन जाने विषयमा सुरक्षा प्रमुखसँग सल्लाह गऱ्यो र सुरक्षाको लागि प्रहरी खटाइदिन अनुरोध गऱ्यो । जेलमा रहेको स्वास्थ्य युनिटसँग वीर हस्पिटलमा उपचार गराउन जाने सिफारिस पत्र तयार गऱ्यो र जेलरसँग अनुमति लियो । कालुले वीर हस्पिटलमा जचाँएपछि उसको भोटेबहालमा रहेको डेरामा श्रीमतीले बनाएको खाजा खाएर जेलभित्र पस्ने समयभित्र फर्कने अनौपचारिक जानकारी पनि प्रहरीहरुलाई गराएको थियो । कालुको सुरक्षामा खटिन सबै नै तयार त थिए नै, तर निमित्त प्रमुख भएर बसेको असई आफैं पनि जान तयार भयो ।
दुई जना प्रहरी जवान र असई ट्याक्सीमा बसेर जचाउने काम गरे । त्यसपछि चारै जना कालुको डेरा भोटेबहालतिर खाजा खानको लागि हिडे । कालु कैदी भए पनि उसको डेरा सम्पन्नताको प्रतिक थियो । एक फ्ल्याट भाडामा लिएको थियो र उसको श्रीमती व्यापार गर्ने हुनाले बसाइको स्तर राम्रै थियो । त्यसो त उसको तीन वटा ट्याक्सी पनि शहरमा चल्छ भन्ने पनि सुनिन्थ्यो । कालुको श्रीमतीले विभिन्न किसिमका परिकारहरु तयार पारेर बियरसहित सबैलाई सन्तुष्ट हुने गरी ख्वाइन। कालुले श्रीमतीसँग छुट्टै कोठामा गएर पनि भेटघाट गऱ्यो। समस-समयम उ प्रहरीहरु बसेको कोठामा आई उनीहरुसँग बसेर खानपिन गर्ने र रमाइलो गर्ने पनि गरि नै रहन्थ्यो ।
कालुकी श्रीमतीले उक्साइ-उक्साइ बियर प्रशस्त खुवाइन। जेल फर्कने समय हुन लागेपछि असईले कालुलाई बोलाउन पठाए, तर कालु कतै भेटिएन। वरपर र खोजखबर गर्दा कतै पनि नभेटिएपछि असईले जिल्ला प्रहरी कार्यालयमा वाकटकीबाट खोजखबरको लागि अनुरोध गऱ्यो। तत्कालै जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी आई सबैतिर जानकारी दिई खोजपड्ताल गरिरह्यो । त्यसै राति खटिएका सुरक्षाकर्मीहरुको स्थिति चेकजाँच गरी ड्युटीमा मादक पदार्थ सेवन गरी लापरबाही गरी कैदी भगाएको अभियोगमा निलम्बन गरियो ।
त्यसै राती देखि ती प्रहरीहरुलाई नख्खु कारागारमा नै बन्दी बनाइ राखिएको छ । जिल्ला प्रहरी कार्यालयले हालसम्म फरार कैदी कालु तमाङ फेला नपरेको भनि जवाफ दिएकोले सोही व्यहोरा खुलाइ गृह मन्त्रालयमा प्रतिवेदन पेश गरेको छु भनि विस्तृत बिबरण सहितका कागजात संलग्न गरी फाइल गृह मन्त्रालयमा पेश गरेँ।
- रेशमबहादुर पाँडे, नुवाकोट, बिदुर-१० गेर्खुटार