Harsamaya

रौतहट - जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादव धरौटी बुझाएर रिहा भएका छन् ।

सर्लाही जिल्ला अदालत मलङ्गवामा उपस्थित भएका यादवलाई न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले एक लाख ६० हजार रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । 

सर्लाही जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले राजद्रोहको मुद्दामा एक लाख, सार्वजनिक सेवा अवरोध गरेको र आपराधिक उपद्रव मुद्दामा ३०/३० हजार गरी एक लाख ६० हजार रुपियाँ धरौटी माग भएको बताए ।

गत असार १९ गते राति सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्का र यादवबीच  गालिगलौचको टेलिफोन संवाद बाहिरिएपछी भदौ २५ गते प्रहरीले पक्राउ गरेको थियो । पूर्व मधेश प्रदेशसभा सदस्यसमेत रहेका यादवलाई  जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा भएकै बेला आमाको निधन भएपछि  असोज ३ गते  काजकिरिया गर्न भनी प्रहरीले छाडेको थियो आमाको काजकिरिया सकेर बिहिवार आफै  यादवसँग  अदालतमा उपस्थित भएका हुन ।

उनले अदालतले न्याय दिएको बताएका छन् ।अन्याय, अत्याचार र भ्रष्टाचारको विरोधमा बोल्दा उल्टै आफूविरुद्ध राज्यले अनेक लाञ्छना लगाएर मुद्दा दायर गरेको आरोप समेत लगाए । प्राविधिक कार्यालय मलङ्गवामा आर्थिक अनियमितता गरी रातभर काम भएको विषयमा विवाद भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update