Harsamaya
हत्याको आरोपमा एक जना पक्राउ

बर्दिया - बर्दियामा बालिका हत्याको आरोपमा एक युवा पक्राउ परेका छन् ।गत असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीया बालिका भारती (एन्जल) देउवाको हत्याको आरोपमा प्रहरीले गेरुवा गाउँपालिका वडा नं ५ झबही बस्ने २१ वर्षीय समिर तिरुवा सुनारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका समिर तिरुवाले मृतक बालिका देउवालाई उनले लगाएको गहनाको लोभमा हत्या गरेको स्विकारेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले तिरुवाले हत्या गरेको स्विकारेको र अरू थप अनुसन्धान गर्दा समेत प्रमाणहरू भेटिएको बताए ।

उनका अनुसार आरोपी तिरुवा गेरुवा र राजापुरका विभिन्न सुन पसलमा मृतक बालिकाको सुन बेच्न पुगेका थिए । सो ठाउँमा सुन नबिकेपछि कैलाली सम्म सुन बेच्न पुगेकोको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार एक्लै साइकल डोर्‍याएर हिँडेकी एन्जलले सुन लगाएको देखेपछि समिरले समातेको र झाडीमा लगि घाँटी थिचेर मारेको स्विकारेका छन् । मारिसकेपछि शव छिट्टै सडोस् र नेचुरल देखियोस् भनेर नाङ्गै बनाएर बालुवामा पुरेको तिरुवाले प्रहरीलाई बताएका छन् । मृत्यु भइसकेपछि बलात्कारको प्रयास गरेको समेत स्विकारेको प्रहरीले जनाएको छ ।

बालिकाको मृत्यु कसरी भएको र बलात्कार भए नभएको पोस्टमार्टम रिपोर्ट पछि मात्र खुलासा हुने प्रहरी उपरीक्षक पौडेलले बताए ।  उनले घटनाको थप अनुसन्धान भइरहेको  र पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको बताए ।

हत्या आरोपी तिरुवालाई आजै बर्दिया अदालतमा उपस्थित गराई पाँच दिनको म्याद थपि अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानको क्रममा शङ्कास्पद ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिएको थियो । आज नै बालिकाको शव भेरी अस्पताल नेपालगञ्जमा पोस्टमार्टम गरिएको छ ।

बालिकाको आमा देउमा देउवाले भारतीको हत्या भएको हुनसक्ने भएकोले शवको पोस्टमार्टम गरी घटनाको अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय पाताभारमा मंगलबार जाहेरी दिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख तथा प्रहरी निरीक्षक मदन बहादुर गुरुङले बताए ।

गत असोज १७ गते शुक्रबार करिब ३ बजे गेरुवा गाउँपालिका वडा नं ५ गणेशपुर स्थित आफन्तको घरमा वैवाहिक कार्यक्रममा सहभागी हुने गएकी थिइन् । पछि कपडा फेर्ने भन्दै आफ्नो घर फर्कने क्रममा बाटोबाटै उनी सम्पर्क विहीन भएकी थिइन् ।

बालिका घर नफर्केपछि १७ गते साँझ नै परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।  बालिकाको खोजतलास गर्दै जाने क्रममा १८ गते शनिबार सोही वडाको मुलापानी बुढी खोलामा साइकल फेला परेका थियो ।

प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update