Harsamaya
खोटाङमा ससुराली पुगेर धारिलो हतियार प्रहार, श्रीमतीसहित चार जना घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ आहालेमा धारिलो हतियार प्रहारबाट श्रीमतीसहित चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार स्थानीय ४३ वर्षीय नइन्द्रकुमार राई आफ्नै ससुरालीमा पुगेर धारिलो हतियार प्रहार गर्दा चार जना घाइते भएका हुन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था मध्यम छ।

हतियार प्रहारबाट हलेसी तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया अन्जना राईको टाउकोको पछाडिको भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, ६२ वर्षीया स्यामाउन राईको टाउको तथा दाहिने हातमा चोट लागेको छ। उनको अवस्था पनि गम्भीर रहेको छ। २५ वर्षीया तेनिना राईको टाउकोमा चोट लागेकाले उनको अवस्था गम्भीर रहेको छ।

घटनामा नइन्द्रकुमार राईको दाहिने हातमा चोट लागेका अर्का घाइतेको अवस्था भने मध्यम रहेको जनाइएको छ।

चारै जना घाइतेलाई उपचारका लागि दुर्छिमस्थित नगर अस्पताल लगिएको छ। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

धारिलो हतियार प्रहारमा संलग्न नइन्द्रकुमार राईलाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ। घटनाको कारणबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन।

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update