Harsamaya
कपिलवस्तुमा ९.२४० ग्राम ब्राउन सुगरसहित महिला पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिका–२, हल्लानगरबाट प्रहरीले ९ ग्राम २४० मिलिग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय २३ वर्षीया अस्मिता बोहोरा रहेकी छन्। उनले आफ्नै घरबाट लागूऔषधको कारोबार गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो।

वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा कोठाको दराजमाथि राखिएको कालो रङको महिलाले बोक्ने झोलाभित्र खैरो रङको धुलो पदार्थ फेला पारेको हो। उक्त पदार्थ ब्राउन सुगरजस्तो देखिने प्रहरीले जनाएको छ।

प्रहरीले लागूऔषध तौल गर्न प्रयोग हुने एक थान डिजिटल तौल मेसिनसमेत बरामद गरेको छ। बरामद लागूऔषध र तौल मेसिनसहित बोहोरालाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय चन्द्रौटामा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update