
काठमाडौं - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी प्रहरीले लिने भएको छ । सोमबार सुधन गुरुङसहित पुगेर दिएको जाहेरी लिन अस्वीकार गरेको प्रहरीले जेन-जी आन्दोलनका घाइते परिवारबाट आएको जाहेरी लिने भएको हो ।
जाहेरी लिन अस्वीकार गरेपछि सोमबार मध्यराति सुरक्षा प्रमुखहरूसँग छलफल भएको थियो । सो छलफलपछि जाहेरी लिने सहमति भएको हो ।
जेन-जीबाट पूर्वप्रधानमन्त्री ओलीसहितलाई पक्राउ गर्न दबाब बढेपछि सोमबार बेलुकी बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् । त्यसक्रममा सुरक्षा प्रमुखहरूले तत्कालै जाहेरी दर्ता र पक्राउ गर्ने बाटोमा जानु नहुने मत राखेका थिए ।
प्रहरीले तत्काल जाहेरी लिएपनि दर्ता भने नगर्ने प्रहरी स्रोतले बताएको छ । प्रहरीले जाहेरी लिएर पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगलाई जिम्मा लगाउने तयारी गरेको छ ।