 
                                                            रामेछाप - लगातारको वर्षाको कारण रोशी खोलामा आएको भीषण बाढीले बिपी राजमार्गमा क्षति पुर्याएको छ । बाढीको कारण बिपी राजमार्ग ठप्प भएको छ ।
खोलामा ठूलो बाढी आएपछि गत वर्ष बाढीले बगाएको ठाउँ उकासेर रोशी खोला किनारमा बनाएको सडक अधिकांश ठाउँमा बगाएको नेपालथोबाट राज मैनालीले जानकारी दिए ।
गत वर्ष पनि रोशी खोला र सुनकोशी नदीमा बाढी आउँदा बिपी राजमार्गमा ठूलो क्षति भएको थियो । अघिल्लो वर्षको असोज महिनामा आएको बाढीले रोशी खोलामा बगाएको बाटो अस्थायी रूपमा सञ्चालन गरिएको थियो ।
अहिले सोही सडक बगाएको छ । सडक बगाएपछि पूर्वबाट काठमाडौं छिर्ने यातायात साधन अब दोलखाको चरिकोट घुमेर काठमाडौं आउजाउ गर्नुपर्ने भएको छ ।
सडक विभागका महानिर्देशक विजय जैशीले बिपी राजमार्ग बन्न कम्तीमा सात दिन लाग्ने बताए । उनले खोलामा पानीको बहाव कम भएपछि सडक मर्मतको काम थालिने जानकारी दिए । खोलाले गत वर्ष जस्तै सडक कटान गरेको जैशीले जानकारी दिए ।
 


 
                                                 
                                                 
                                                -1759975775.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    