रौतहट - निरन्तरको अविरल वर्षासँगै रौतहटका दुई मुख्य नदी बगमती र लाल बकैया खतराको सतहमा पुगेको छ । बागमती नदीको बहाव ४५०० क्युसेक पुगेको छ । बागमती सिँचाइ ड्यामका ३६ वटै ढोका खुल्ला गरिएको प्रहरीले जनाएको छ । बागमती नदीका किनारमा तथा वरिपरि रहेका गाउँ घरमा बस्नेहरू उच्च सतर्कता अपनाउनु पनि प्रहरीले अनुरोध गरेको छ ।
यता, मौलापुर नगरपालिका–१ मर्यादापुर नजिक लाल बकैया नदीको बाँध कटान गरेको छ । बाँध कटान भएसँगै त्यस क्षेत्रका स्थानीयले जोखिम बढेको बताएका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार गौर बजार जलमग्न भएको छ ।
प्रायः सरकारी कार्यालय डुबानमा छन् भने सडकमा हिँड्न सक्ने अवस्था नरहेको उनले बताए । यस क्षेत्रका मुख्य नदी पूर्वी भागमा बागमती र लाल बकैयाले जल सतह पार गरेकाले नदी किनारका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन रौतहट प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना,स्थानीय तह र स्थानीय बासिन्दाबिच समन्वय गरी उद्धारका लागि आवश्यक डुङ्गा, डोरी, जीवन रक्षक ज्याकेटलगायतका उपकरणहरू तयारी अवस्थामा राखिएको रौतहट प्रशासनले जानकारी दिएको छ ।
अविरल वर्षासँगैको हावाहुरीले चन्द्रपुर नगरपालिका वडा न २ मा पर्ने चन्द्रनिगाहपुर–बाग्मती खण्डमा रुख ढलेर अवरुद्ध बनेको यातायात सञ्चालनमा आएको छ ।
सुरक्षाकर्मीले रुख पन्छाएपछि गाडी चल्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

