Harsamaya
रसुवा प्रशासनले भन्यो - अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजानू, खोला किनारमा नबस्नू
प्रतिकात्मक तस्वीर ।

रसुवा - आज बिहानैदेखि वर्षा निरन्तर बढी रहेका कारण खोला तथा नदी क्षेत्रको तटीय क्षेत्रमा नबस्न आग्रह गरिएको छ ।        
निरन्तर वर्षा भइरहने मौसमविज्ञको पूर्व अनुमानअनुरूप बिहान ४ बजेदेखिनै पानी पर्न थालेको र रसुवाको भूबनोट बढी भीरपाखा भएका कारण आउन सक्ने पहिरो एवं भलबाढीको जोखिमका सम्भावनालाई मध्यनजर राखी स्थानीय प्रशासनले ठाडोखोला तथा नदीको तटीय क्षेत्रका आसपासमा नबस्न जिल्लावासीलाई अनुरोध गरेको हो ।
  
सुरक्षित स्थानमा बस्न र अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान यदि जानैपर्ने जटिल अवस्था आएमा भरपर्दो साथीलाई साथसाथै लिई सुरक्षित तवरले यात्रा गर्न अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
           
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष राजेश पन्थीका अनुसार रसुवाको लाङटाङ, तिवारी, चिलिमेको रोङ्गा, मैलुङ, फलाखु , राम्चेको छहरे, धोबी, घट्टे, भाँगे, तोर्मे, भोटेकोशीसमेतका खोला एवं  त्रिशूली नदीसमेतका नदी खोलाहरूमा पानीको सतह बढ्न थालेको र सम्भावित भलबाढीबाट सुरक्षित रहन सबैमा अनुरोध गरिएको हो । 

यात्रुबाहक बस तथा अन्य सवारीसाधन चलाउने सवारी चालकहरूले यात्रुलाई दिसापिसाब गराउँदा समथर स्थानमा मात्र रोक्न समेत आग्रह गरिएको छ । पानी परुञ्जेल ठाडो खोल्छाको पानी प्रयोग गरी पिसानी घट्ट सञ्चालन नर्गनसमेत अनुरोध गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update