Harsamaya
मुख्यमन्त्री सम्मेलनको मिति सर्‍यो (भिडियोसहित)
कोशी प्रदेश सरकार । (फाइल फोटो)

विराटनगर - कोशी प्रदेश सरकारको आयोजनामा हुने भनिएको मुख्यमन्त्री सम्मेलनको मिति परिवर्तन भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि असोज २२ र २३ गते गर्ने भनिएको सम्मेलन असोज २७ र २८ गते गर्ने निर्णय गरेको हो ।

विराटनगरमा आयोजना हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहनेछ । सम्मेलनमा संघीयता कार्यान्वयनका विषयमा छलफल गर्ने सरकारको योजना छ ।

यस्तै, मन्त्रिपरिषद् बैठकले विराटनगरको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई प्रदेशको गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले बैठकका निर्णयबारे जानकारी दिँदै उक्त जानकारी दिएका हुन् ।

बैठकले प्रदेश निजामती सेवा प्रथम संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । चालु आर्थिक वर्षका लागि सामाजिक विकास मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतका निकायमा आवश्यक अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको मन्त्री शेर्पाले बताए ।

यसैगरी, प्रदेश योजना आयोगमा विराटनगरका तोयानाथ खतिवडा ‘रुपेश’ र खोटाङकी हरिकुमारी राईलाई नियुक्त गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update