
काठमाडौं - आज पूजाआजा एवं दर्शन गर्न सबैका लागि तलेजु भवानी मन्दिर खुला गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र खुल्ने यस मन्दिर यस वर्ष पनि सबैका लागि खुला गरिएको हो ।
हनुमान ढोका दरबार क्षेत्रमा रहेको वर्षमा एक पटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज लाखौँ भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुग्ने गर्छन् ।
तलेजु भवानीलाई भने फूलपातीकै दिन सोमबार हनुमान ढोका दरबारको मूल चोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।
मूल चोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको जनाइएको छ ।