Harsamaya

काठमाडौं - नेपाली हिन्दू धर्मावलम्बीहरूले बडादशैंको नवौँ दिन ‘महानवमी’ को अवसरमा देवी दुर्गाको नवौँ स्वरूप सिद्धिदात्री देवीको पूजा–आराधना गर्दै कन्या पूजन गरी मनाइरहेका छन् । वेद गुरु रविन्द्र आचार्यका अनुसार महानवमीलाई पूर्णताको प्रतिकका रूपमा लिइन्छ, जहाँ ‘नौ’ अङ्कलाई पूर्णताको सङ्केत मानिन्छ ।

नवरात्रभरि गरिएको नवदुर्गा पूजा नवमीका दिन सिद्धिदात्री देवीको आराधनासँग सम्पन्न हुँदै जान्छ । आचार्यका अनुसार सिद्धिदात्री देवीले भक्तहरूलाई अष्टसिद्धिहरू अणिमा, महिमा, गरिमा, प्राकाम्य, लगिमा, प्राप्ति, ईशित्व र वशित्व प्रदान गर्ने बताइन्छ । यी सबै अलौकिक शक्तिहरूको प्रदानकर्ता भएकै कारण देवीलाई ‘सिद्धिदात्री’ भनिएको हो ।

आचार्यले बताएअनुसार, नवमीको दिनमा विशेष गरी कन्या पूजनको प्रचलन रहेको  छ । दुई वर्षदेखि दश वर्षसम्मका कन्याहरूलाई देवीको स्वरूप मानेर पूजा गरिन्छ । ‘आजको दिन ती कन्याहरू कुमारी, त्रिमूर्ति, कल्याणी आदि देवी स्वरूपमा पुजिन्छन्,’ आचार्यले भने ।

कन्या पूजन अन्तर्गत बालिकाहरूलाई घरमा निमन्त्रणा गरिन्छ, तिनीहरूको पाउ धुने, पाउको जल शिरमा अर्पण गर्ने, पूजा गरी नयाँ वस्त्र तथा अलङ्कारहरू पहिराइने र मिष्ठान्न भोजन गराइने परम्परा छ । यस विधिबाट भगवतीको प्रसन्नता प्राप्त हुने विश्वास छ ।

‘कन्या पूजनबाट सन्तानहीनले सन्तान प्राप्त गर्छन्, परिवारमा सुख र समृद्धि आउँछ, रोग–व्याधिबाट मुक्ति मिल्छ र आत्मिक तथा नैतिक गुणहरूको विकास हुन्छ,’ वेद गुरु आचार्यले भने ।

महानवमीका दिन देवीको कृपाप्राप्तका लागि देशभरका मन्दिरहरूमा भक्तजनहरूको भीड लागेको छ । यस दिन गरिएको पूजा, आराधना र कन्या पूजनले भक्तजनहरूलाई आध्यात्मिक सन्तोषका साथै सामाजिक सद्भाव र आत्मिक बल पनि प्रदान गर्ने जनविश्वास रहिआएको छ ।

गुरु आचार्यका अनुसार, नवमीका दिन शक्ति स्वरूपा भगवतीको आराधनाका विभिन्न विधिहरू प्रचलित छन्, तर मुख्यतः कन्या पूजालाई धार्मिक र सांस्कृतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।

उनले भने, ‘महानवमीमा दुई वर्षदेखि दश वर्षसम्मका कन्याहरूलाई देवीको प्रतिस्वरूप पूजा गर्ने परम्परा रहेको छ । यसमार्फत भगवतीको कृपा प्राप्त हुने जनविश्वास छ ।’

वेद गुरुले विभिन्न जात, जाति, धर्म, र समुदायहरूको विविध सांस्कृतिक अभ्यासको चर्चा गर्दै भने, ‘कतिपय ठाउँमा भगवतीको हवन, वाहन पूजा र विश्वकर्मा पूजा पनि नवमीकै दिन गरिन्छ । यसले शक्तिको विविध स्वरूपप्रति श्रद्धा प्रकट गर्ने सङ्केत गर्छ ।’

उनले थपे, ‘भगवती परम्बा, शक्ति स्वरूपा हुनुहुन्छ, जसले सम्पूर्ण सृष्टिलाई चलायमान बनाइरहेकी छिन् ।’ उनले हवन, जप, ध्यान, मन्त्र र कन्या पूजाको माध्यमबाट भगवतीको आराधना गर्दा भगवती प्रसन्न हुने धार्मिक विश्वास रहेको बताए   ।

महानवमीका दिन भक्तजनले शुद्ध वस्त्र धारण गरी, शुद्ध मन र निर्मल भावनाका साथ भगवतीको सेवा गर्ने परम्परा रहेको बताउँदै वेद गुरुले भने, ‘चाहे कामना भक्तिभाव होस् या निष्काम भक्तिभाव, भगवतीको आराधनाले अन्ततः आत्म शुद्धि र आन्तरिक स्थिरता प्राप्त हुन्छ ।’

धार्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिने महानवमी विशेष गरी दुर्गा पूजाको नवौँ दिन हो, जसमा शक्ति, भक्ति र संस्कृतिको सुन्दर सङ्गम देखिन्छ । देशभरका मन्दिर, घर आँगन, र पूजा स्थलहरूमा भक्तजनहरूको भिड लाग्ने गर्दछ ।

साथै, अर्का गुरु नारायण प्रसाद आचार्यले पनि नवमी भन्ने बित्तिकै भगवती आमाको अवतार भएको तिथि मानिने भन्दै नवमीमा सोह्रसोपचार (सोह्र चिज) हरुले पूजा गर्दा राम्रो हुने बताए ।

नवमीमा नौ माताको पूजा हुने हुनाले त्यो दिन दुई वर्षदेखि १० वर्षसम्मका कन्याहरू माताको रुपमा मानेर पूजा गर्ने चलन पनि रहेको बताए ।

उनले भने, ‘नवमी भन्ने बित्तिकै भगवती आमाको अवतार भएको तिथि मानिन्छ । नवमी भनेको पूर्णाङ्क पनि हो । नवमीमा हामीले सकिन्छ भने सोह्रसोपचारले पूजा गर्नुपर्दछ । सोह्र चिजलाई राखेर पूजा गर्नुपर्दछ । नवमीमा कन्या पूजाका पनि कुरा छन् । कन्या पूजा नवमीमा विशेष गरी गर्ने चलन छ । दुई वर्षबाट उता लागेर १० वर्षसम्म भएका ती कन्याहरूलाई पूजा गर्ने चलन छ । नवमीको दिनमा जति सक्यो चाँडो आफूले कमाइ गरेको जमिनमा गएर खेतीको अवलोकन गर्‍यो भने, त्यहाँ पनि शक्ति प्रभाव हुन्छ भन्ने चलन गाउँघरतिरमा थियो ।’

उनले थप्दै भने, ‘त्यो नवमीमा र नवमीमा देवी भागवतमा एउटा उल्लेख के छ भने, ब्रह्मा, विष्णु, महेश्वर, भगवान् परमात्मा प्रभुहरू मिलेर, अब असुरहरूले साह्रै दुःख दिइसकेपछि, असुरहरूलाई अब कसरी हुन्छ, यिनीहरूलाई परास्त गर्नुपर्‍यो भनेर भगवान्हरु लाग्नुभयो, त्यतिखेर । तर सक्नुभएन । कारण के थियो भने, शक्ति बिना कसैको केही पनि चल्दैन । बिना शक्ति, बिना भगवतीको कृपाद्वारा यो संसार केही पनि गर्न सकिँदैन । अब त नसक्ने भयौँ भनेर भगवती आमाको आराधना गर्नुभयो । जब भगवती आमाको आराधना गर्दा, भगवतीको कृपा भएर ती असुरहरूलाई उहाँले परास्त गर्न सफल रहनुभएको छ । त्यस कारणले गर्दा, यो महानवमी पनि भनिन्छ ।’

साथै, उनले नवमीमा विशेष गरेर सिद्धिधात्रीको पूजा गरिने भन्दै रातो वस्त्र, रातो वस्त्रमा दियो, कलश, गणेश स्थापित गरेर नवदुर्गा भगवानीलाई सुपारी र जनई राखेर पूजा गर्ने बताए ।

‘नवदुर्गा मध्यमा नवमम सिद्धिधात्री भनेर छ । विशेष गरी सिद्धिधात्री नाम गरेकी देवीको पूजा हुन्छ यसमा, हामीले पूजा गर्दा सबैभन्दा पहिला आसन शुद्धि चाहिन्छ, दोस्रो कुरा हृदय र भावना शुद्धि हुनुपर्छ । भगवानको पूजा गर्न बसेको छ तर मनमा अनेक प्रकारको क्लेश, अनेक प्रकारको भावना, अर्काको कुभावना सोच्ने हो भने भगवती पूजा गरेपनि त्यो सफल हुँदैन,’ उनले भने, ‘आसनलाई पवित्रता बनाउनुपर्दछ, हृदयलाई पवित्रता बनाउनुपर्दछ । अनि त्यसपछि देवीलाई प्यारो लाग्ने भनेको रातो वस्त्र, रातो वस्त्रमा दियो, कलश, गणेश स्थापित गरेर नवदुर्गा भगवानीलाई सुपारी र जनई राखेर कतै केराको पातमा राख्ने चलन छ । आ–आफ्नो कसैले सुपारी मात्र राख्ने चलन छ । त्यसपछि राखेर कालो भट्टमास त्यसै गरी चिउराहरू कुरा राखेर, अनि भगवती आमा सिद्धिधात्री भगवतीको पूजा गरिन्छ । यसरी सबै कुरालाई भगवतीको कृपा र शक्ति प्राप्त हुन्छ ।’

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update