
काठमाडौं - आज बडा दशैँको छैटौँ दिन, हिन्दू धर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाउँदै छन् ।आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिने धार्मिक विश्वास रहेको छ । शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती उनकी पुत्रीका रूपमा जन्मिएपछि उनी कात्यायनी नामले परिचित भएकी हुन्।
त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन्। त्यसपछि उनी धर्म र न्यायको प्रतीकका रूपमा प्रतिष्ठित भएकी भन्ने पुराणमा उल्लेख गरिएको छ ।
अदृश्य जगतको शासन सत्ता यिनै कात्यायनी देवीले चलाउने विश्वास गरिन्छ । कात्यायनीको हामीले देख्ने स्वरूप सोही अदृश्य जगतलाई जनाउने सूचक हो । त्यसैले कात्यायनीलाई दिव्यताको अति गुप्त रहस्यहरूको प्रतीक मान्ने गरिन्छ ।
क्रोध पनि कुनै समय सकारात्मक बलको प्रतीक हुन्छ । कुनै समय यही क्रोध नकारात्मक आसुरी शक्तिको प्रतीक बन्ने गर्दछ । यी दुईमा एकदमै गहिरो भेद पाइन्छ । क्रोध केवल नकारात्मक गुण या शक्ति होइन । सकारात्मकताका साथ देखिएको क्रोध बुद्धिमत्तासँग जोडिएको हुन्छ । सकारात्मक क्रोध एक प्रौढ बुद्धिबाट उत्पन्न हुन्छ । क्रोध यदि अज्ञान र अन्याय को प्रति छ भने यसले सकारात्मकतालाई सञ्चार गराउने गर्दछ । अतः यही सकारात्मक क्रोध जुन अज्ञान र अन्याय कोप्रति रहेको हुन्छ । त्यो नै देवी कात्यायनीको विशेषता हो ।
महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भएर आदिशक्तिले उनको पुत्रीको रूपमा जन्म लिएकोले ती देवीको नाम नै कात्यायनी राखिएको हो । कात्यायनीको उपासनाबाट यस लोकमा स्थित भएर पनि अलौकिक तेज एवं प्रभावबाट युक्त हुँदै रोग, शोक, सन्ताप, भय आदि सर्वथा विनष्ट हुने धार्मिक विश्वास छ ।