Harsamaya
असोज ९ : दिनभर के के भए ?
ग्राफिक्स: हर समय/Har Samaya

‘जेनजी’ प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते प्रहरी कार्यालयबाट लुटिएका हातहतियारसहित उनीहरुको साथबाट हतियार र गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अरु दिनभर मुख्य के के भए ?

प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन
जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशबासीका नाममा पहिलो पटक सम्बोधन गरेकी छन् । बिहीबार उनले देशको पछिल्लो अवस्था र अबका कदमहरुबारे जनतालाई जानकारी गराएकी हुन् । पहिलो पटक सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको क्रममा विद्यार्थी र युवाहरुको मृत्यु हुनेगरी भएको घटनाको दोषीलाई कारबाही गर्ने बताएकी छन्। उनले आन्दोलनको क्रममा ज्यान गुमाउने व्यक्तिहरुलाई सहिद घोषणा गरी निजका परिवारलाई आर्थिक राहतको व्यवस्था समेत गरिएको बताइन् ।

सरकारको प्रवक्तामा खरेल
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई सरकारको प्रवक्तामा नियुक्त गरेको छ । बैठकपछि मन्त्री खरेलले पत्रकारहरूलाई जानकारी दिँदै विभिन्न निर्णयहरूबारे जानकारी दिएका हुन् । उनका अनुसार, २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा मृत्यु भएका नेपाली नागरिकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदर्शनका क्रममा भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीबाहेक, पहिचान खुलेका मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिइनेछ । साथै, काजक्रिया, खाना र यातायात खर्चका लागि अतिरिक्त ५ लाख रुपैयाँ उपलब्ध गराइने निर्णय भएको छ ।

लेखकलाई मातृशोक
निवर्तमान गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई मातृशोक परेको छ । बिहीबार साँझ ह्याम्स अस्पतालमा उपचारका क्रममा लेखककी ८९ वर्षीया माता शारदा लेखकको निधन भएको स्वकीय सचिव जनक भट्टले बताए । उनी दमलगायत रोगबाट पीडित थिइन् ।

भक्तपुरमा राँगाको व्यापार
दशैँको लागि भनेर भक्तपुरको महेश्वरी खेल मैदानमा राँगाको व्यापार सुरु भएको छ । हरेक वर्ष दशैँ विशेषका रुपमा राँगाको व्यापार हुने गरेको छ । नेवार समुदायले राँगाको मासु अत्याधिक प्रयोग गर्ने भएकाले पनि दशैँको लागि भनेर विभिन्न जिल्लाबाट राँगा भक्तपुर भित्र्याएका हुन् । दशैंलाई लक्षित गर्दै भक्तपुरको महेश्वरी चौरमा दशैँको लागि भनेर सस्तो व्यापार मेला पनि लाग्ने गरेको छ । राँगा व्यापारी दिपक बुढाथोकीले हर समयसँगको कुराकानीमा रामेछाप मन्थलीबाट दशैँको लागि भनेर ३५ वटा राँगा ल्याएको बताए । उनले ४० लाख लगानीमा ल्याएका राँगाहरु एउटाको ९० हजारदेखि एक लाख रुपैंयाँभन्दा बढिमा बिक्री गर्ने गरेको भन्दै लगानी उठेर नाफा समेत हुने अपेक्षा गरेको बताए ।

‘अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना विभागबाटै हुने’
सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना तथा प्रसारण विभागबाट गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिएका हुन् ।  पूर्ववर्ती सरकारले स्थानीय प्रशासन कार्यालयबाट अनलाइनको दर्ता र नवीकरण गराउने निर्णय गरेको थियो ।  बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेललाई तोक्ने निर्णय गरेको पनि उनले जानकारी दिए । 

एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँच जना
एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँच जना छनोट भएका छन् । ‘एसियाली साइन्टिष्ट म्यागजिन’ले हालै प्रकाशन गरेको सो सूचीमा काठमाडौँ विश्वविद्यालयका फ्रेनशन प्रधान, फ्रेन्स अफ नेचरका राजु आचार्य, इन्डिपेन्डेन्ट कन्जरभेसन बायोलोजिष्टका रिन्जिन फुनजोक लामा, राप्ती इञ्जिनियरिङ कलेजका डा शैलेन्द्र गिरी र नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका टिष्टा प्रसाईं जोशी छनोट भएका हुन् । 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update