काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन दिएकी छिन् । मंगलबार निर्वाचन आयोगसँग भएको छलफलमा उनलेयस्तो निर्देशन दिएकी हुन् । आज अरु दिनभर के के भए ? मुख्य समाचार ।
नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित निवासमा सार्वजनिक भएका छन् । मंगलबार ओली नयाँ निवास गुन्डुमा पार्टीका नेताहरुसहित सार्वजनिक भएका हुन् । उनलाई भेट्नका लागि पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरु गुन्डु पुगेका थिए ।
सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या
सिराहा जिल्लाको गोलबजार नगरपालिका-१३ डंग्राहा गाउँका १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको छ । चार दिनदेखि बेपत्ता रहेका अभिषेकको शव सोमबार बिहान करिब ६ बजे घरदेखि १०० मिटर पूर्व, जनता आधारभूत विद्यालय नजिकै आँपको रुखमुनि क्षतविक्षत अवस्थामा फेला परेको हो । शव सडेर दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रारम्भिक अनुसन्धानमा खुट्टाको छाला पिल्सिएको, शरीरमा नीलडाम रहेको र हत्या पश्चात् शवमा आगो लगाइएको वा एसिड खन्याइएको हुन सक्ने आशंका गरिएको छ ।
रामेश्वर खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
अर्थमन्त्री समेत रहेका रामेश्वर खनालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि समालेका छन् । मंगलबार सिंहदरबारस्थित सङ्घीय मामिला मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहरणपछि उनले कर्मचारीतन्त्रको आत्मसम्मान भनेको नेपाल सरकारको संयन्त्रले साच्चिकै डेलिभरी दिनसक्छ भन्ने विश्वास दिलाउन सक्नु रहेको बताए ।
मन्त्रीज्यूको निर्देशन कार्यान्वयन हुन्छ
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै सिलवालले दुई वटा निर्णयमा हस्ताक्षर समेत गरेका छन् । निर्णयहरुमा १०औँ तहभन्दा माथिका कर्मचारी सरुवा सञ्चालक समितिमा लाने व्यवस्था संशोधन गर्दै कार्यकारी निर्देशकलाई नै अधिकार दिन प्रस्ताव गरिएको छ । त्यस्तै आर्थिक नियमावली अनुसार ठूलो पुँजीका आयोजना र कामहरूको प्रतिस्पर्धापछि नापजाँच गर्नको लागि समिति बनेको छ ।
जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, अब हामी निर्णायक आन्दोलन गर्छौं : दुर्गा प्रसाईं
मेडिकल व्यवसायी दुर्गा प्रसाँईले जेनजीहरुको आन्दोलन पश्चिमाहरुको खेल रहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन युवाहरुलाई उचालेर मार्ने पश्चिमाहरुको खेल रहेको दाबी गरेका हुन् । उनले आन्दोलन सुरु भएपछि बर्बरतापूर्वक दमन हुँदा रमिते मात्रै हुनुपरेको भन्दै आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको बताए ।
सप्तरी पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
सुरुङ्गा नगरपालिका-२ स्थित हर्दियाको पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ । स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरीको पोखरीमा डुबेर ज्यान गएको हो । दुवै बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

