
सिराहा - सिराहाको गोल बजार नगरपालिका वडा नं. १३ डंग्राहा गाउँका १५ वर्षीय बालक अभिषेक सिंह अपहरणमा परेको भन्दै परिवारजनले इलाका प्रहरी कार्यालय गोल बजारमा निवेदन दिएका छन् ।
असोज ५ गते राती ८ः३० बजे खाना खाएर घर बाहिर आँगनमा निस्केका अभिषेक बेपत्ता भए । अभिषेककी आमा , बाजे र बज्यैले रात भरी गाउँ चाहारे तर बालक अभिषेक भेटिएनन् ।
असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा ५ करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको लख काटियो । फिरौती माग गरिएको इमो सन्देशमा अङ्क र अक्षर दुबैमा ५ करोड उल्लेख गरिएको छ ।
अभिषेकका बुबा सञ्जय सिंहको ७ वर्ष अघि करेन्ट लागेर मृत्यु भएको र अभिषेक सिंह परिवारको एक मात्र वारिस भएको बाजे लक्ष्मण सिंहले बताए । नाति अपहरणमा परेको थाहा पाएर बिलखबन्दमा परेका बाजे लक्ष्मण सिंह र बालककी आमाले असोज ६ गते मध्यान्हमा आएर इलाका प्रहरी कार्यालय गोल बजारमा लिखित जाहेरी दिएका छन् ।
बालक अपहरणको सूचना पाएपछि प्रहरी अनुसन्धान , खोज तलास र उद्धारका लागि सक्रिय भएको छ । घटनास्थलमा भेटिएका प्रहरी निरीक्षक गोविन्द साहले अनुसन्धान र खोज तलास सुरु गरिएको बताए ।
हराइ रहेका बालक जनता माध्यमिक विद्यालय बलहीमा कक्षा ७ मा पढ्दा पढ्दै पढाई छाडेको र आफ्नै स्वामित्वमा रहेको सिटी रिक्सा तथा ट्र्याक्टर चलाउने गरेको छिमेकीहरूले बताए ।
बालक अभिषेकको अपहरणको खबर गोल बजार नगरपालिकामा डढेलो झैँ फैलिएको छ । गोल बजार चोकदेखि ६ किलोमिटर दक्षिणमा रहेको डंग्राहा गाउँमा यो खबरले त्रास फैलिएको छ ।
समाचार सङ्कलन गर्न गएका पत्रकारहरूलाई समाचार नलेखी दिन परिवारजनले आग्रह गरेका छन् । समाचार लेखेकै कारण बालक अभिषेकको ज्यान झन् खतरामा पर्ने भयले परिवारजनले आफ्नो नाम र घटनाको नालीबेली बताउन चाहँदैनन् ।